हिमालय संरक्षण विश्वकै साझा दायित्व हो : रामवरण यादव [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १६ शनिबार
502
Shares
काठमाडौँ। नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले हिमालय क्षेत्रको संरक्षण नेपालको मात्र नभई विश्व समुदायको साझा दायित्व भएको बताएका छन्।
शनिबार आयोजित ‘एएमएस एभरेस्ट टुरिजम अवार्ड २०२६’ लाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी तथा हिमाली पारिस्थितिकीय प्रणालीमा गम्भीर असर परिरहेको उल्लेख गर्दै यसको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको बताए।
पूर्वराष्ट्रपति यादवले नेपालको भौगोलिक विविधता र सामाजिक एकताको चर्चा गर्दै तराई, पहाड र हिमालको विशिष्ट योगदानले राष्ट्रिय पहिचानलाई सुदृढ बनाएको बताए।
उनले तराईलाई कृषि र अध्यात्मको केन्द्र, पहाडलाई संस्कृति र दृढताको प्रतीक तथा हिमाली क्षेत्रलाई नेपालको गौरवका रूपमा व्याख्या गर्दै विविधतामै नेपालको शक्ति निहित रहेको धारणा राखे।
उनले सगरमाथा लाई मानवीय साहस, दृढ संकल्प र अन्तर्राष्ट्रिय मित्रताको प्रतीकका रूपमा उल्लेख गर्दै पर्यटनले विभिन्न देश र संस्कृतिबीच समझदारी तथा सहकार्य विस्तार गर्ने बताए। नेपालको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्र प्रमुख आधार बन्न सक्ने उनको भनाइ थियो।
“नेपालका हिमालहरू विश्वकै पहिचान हुन्। तिनको सुरक्षा र संवर्द्धनका लागि अन्तर्राष्ट्रिय समुदायको ऐक्यबद्धता आवश्यक छ,” यादवले भने, “पर्यटनले सीमापारिका मानिसहरूलाई जोड्ने र अवसर सिर्जना गर्ने काम गर्छ। तर संवेदनशील हिमाली पर्यावरण जोगाउने दायित्वलाई हामीले बिर्सनु हुँदैन।”
कार्यक्रममा उनले पर्वतारोही, पथप्रदर्शक, उद्धारकर्मी, पर्यटन व्यवसायी तथा संरक्षणकर्मीहरूको योगदानको प्रशंसा गर्दै सम्मानसमेत गरेका थिए। विभिन्न देशका कूटनीतिक प्रतिनिधि, पर्यटन क्षेत्रका अगुवा र अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको सहभागिता रहेको कार्यक्रममा उनले विदेशी पाहुनालाई बुद्ध र सगरमाथाको देश नेपालमा स्वागत गरे।
यादवले नेपाललाई विश्वव्यापी संवाद, दिगो पर्यटन र हिमाली विकासको केन्द्रका रूपमा स्थापित गर्न यस्ता अन्तर्राष्ट्रिय मञ्च प्रभावकारी हुने विश्वास व्यक्त गरे।
यस वर्षको प्रतिष्ठित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट पेर्टेम्बा शेर्पा सम्मानित भएका छन्। उनले सन् १९७५ मा दक्षिण-पश्चिम मार्गबाट सगरमाथाको सफल आरोहण टोलीमा सहभागी भएर इतिहास रचेका थिए।
पर्यटन तथा पर्वतारोहण क्षेत्रमा पुर्याएको दीर्घकालीन योगदानको कदरस्वरूप पूर्वराष्ट्रपति यादवले शेर्पालाई दोसल्ला, प्रमाणपत्र तथा ५१ हजार १५१ रुपैयाँ नगदसहित सम्मान प्रदान गरेका थिए।