ट्रम्प नामले भाइरल सेतो भैँसीलाई पुर्याइयो ढाका चिडियाखाना
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १५ शुक्रबार
1.6k
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम दिइएर भाइरल बनाइएको भैँसीलाई ढाका चिडियाखाना पुर्याइएको छ । अनौठो अनुहार र कपालको शैली मिलेका भन्दै बङ्गलादेशको एउटा अल्बिनो भैँसी (सेतो भैँसी) लाई अब संरक्षणका लागि ढाका चिडियाखाना पठाइएको हो।
आफ्नो विशिष्ट गोरो रङ्गको झुप्पा कपाल र अनुहारको बनावटका कारण इन्टरनेटमा भाइरल भएको यो भैँसीलाई इद–उल–अधाको अवसरमा बलि दिनबाट जोगाइएको थियो।
ढाका चिडियाखानाका निर्देशक रफिकुल इस्लाम तालुकदारले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उक्त भैँसीलाई प्रदर्शनीका लागि मात्र नभई विशेष संरक्षणका लागि चिडियाखानामा ल्याइएको जानकारी दिए।
तालुकदारका अनुसार यो अल्बिनो भैँसीलाई हालै संरक्षणका लागि हस्तान्तरण गरिएको र चिडियाखानामा विशेष रेखदेखमा राखिएको छ। यो खुला क्षेत्रमा भएकाले मानिसहरूले टाढैबाट भने यसलाई हेर्न सक्छन्।
करीब आठ महिनाअघि ढाका नजिकैको नारायणगञ्जस्थित राबेया एग्रो फार्ममा यो विशेष प्रजातिको भैँसी ल्याइएको थियो। दुई महिनाअघि पुरानो ढाकाका एक व्यवसायीले यसलाई इदका लागि बलि दिन खरिद गरेका थिए। फार्ममा रहँदा ट्रम्पसँग मिल्दोजुल्दो अनुहार र कपालका कारण यसको फोटो र भिडियो सामाजिक सञ्जालमा व्यापक भाइरल भएको थियो।
स्थानीय सञ्चारमाध्यमदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसम्म यसको चर्चा चुलिएपछि बङ्गलादेशका गृहमन्त्री सलाहउद्दीन अहमदले यो भैँसी एउटा विशेष प्रजाति भएकाले यसलाई बलि नदिई संरक्षण गरिने घोषणा गरेका थिए।
गृहमन्त्रीको सोही निर्देशनपछि भैँसीलाई स्थानीय केरानीगञ्ज मोडल प्रहरी चौकीमा राखिएको थियो र त्यहाँबाट गएराति प्रहरीकै सुरक्षामा ढाका चिडियाखाना पुर्याइएको हो।
चिडियाखानाको नियम अनुसार, कुनै पनि नयाँ जनावरलाई कम्तिमा दुई हप्ता क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले अहिले नै पर्यटकहरूलाई यसको नजिक जान र छुन भने अनुमति दिइएको छैन।