कांग्रेस एकढिक्का हुनुपर्छ : प्रकाशमान सिंह [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १५ शुक्रबार
746
Shares
धनुषा। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई संस्थापक नेताहरूले निर्दिष्ट गरेको मूल्य–मान्यता र आदर्शअनुरूप अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
धनुषा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति स्वर्गीय श्यामनिधि यादवको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेता सिंहले पार्टीभित्र विधिको शासन स्थापित गर्नु अहिलेको मुख्य आवश्यकता भएको बताएका हुन् ।
उनले नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको वर्तमान संविधानको रक्षा गर्दै जनताका इच्छा र आकाङ्क्षा पूरा गर्न पार्टीले आफ्ना कमजोरी सुधार गर्नुपर्ने उल्लेख गरे ।
पार्टीको आन्तरिक विवाद र आशन्न १५औँ महाधिवेशनबारे चर्चा गर्दै नेता सिंहले अहिले काँग्रेस दुई धारमा विभाजित देखिएको टिप्पणी गरे ।
विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधर गरी दुई समूह देखिएकाले १५औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउनुपर्नेमा उनले जोड दिए ।
उनले दुवै पक्षलाई विश्वासमा लिने गरी साझा र भरपर्दो संयन्त्र निर्माण गरेर मात्र महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्ने सुझाव दिए । प्रविधिको प्रयोगको नाममा विधि र प्रक्रिया मिचेर आफ्ना पक्षकालाई मात्र स्थान दिने प्रवृत्तिले पार्टी कमजोर बन्ने चेतावनी पनि उनले दिए ।
देशको वर्तमान राजनीतिक परिस्थिति र लोकतान्त्रिक प्रणालीमाथि देखिएका चुनौतीको सामना गर्न कांग्रेस एकढिक्का हुनुपर्ने उनको भनाइ थियो ।
नेता सिंहले सत्ता र शक्तिको आडमा पार्टीको विधान र पद्धति मिच्ने कार्य रोकिनुपर्ने भन्दै विधिको शासनका लागि लडेको पार्टीभित्रै विधि उल्लंघन हुनु विडम्बनापूर्ण भएको बताए ।
उनले भने, “हाम्रा संस्थापक नेताहरूले जुन संस्कार र मूल्य-मान्यताका आधारमा कांग्रेस स्थापना गर्नुभएको थियो, त्यसलाई जीवन्त राख्नु आजको मुख्य चुनौती हो । १५औँ महाधिवेशनका लागि सदस्यता नवीकरण र नयाँ वितरण भइसकेको अवस्थामा फेरि अद्यावधिक गर्ने नाममा कार्यकर्तामाझ डर र त्रास सिर्जना गर्नु उचित हुँदैन ।”
स्वर्गीय श्यामनिधि यादवले पार्टी सङ्गठन र लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको स्मरण गर्दै नेता सिंहले उहाँप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्न पनि पार्टीलाई सही मार्गमा लैजान आवश्यक रहेको बताए ।
कांग्रेस बलियो भए मात्र लोकतन्त्र र राष्ट्रियता मजबुत हुने उल्लेख गर्दै उनले व्यक्तिगत स्वार्थ त्यागेर पार्टी हितमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।