नेपालका दुई सैनिक मरणोपरान्त 'ड्याग ह्यामार्शोल्ड पदक' बाट सम्मानित हुँदै
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १५ शुक्रबार
509
Shares
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सन् १९४८ मा पहिलो संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियान स्थापना गरेको दिनको स्मरणमा आज संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घ महासभाले सन् २००२ मा स्थापना गरेको यस दिवसका लागि मे २९ तारिखलाई चयन गरिएको हो। यस वर्षको दिवसको मुख्य नारा ‘शान्तिमा लगानी’ रहेको छ, जसले घट्दो स्रोतसाधनका बिच पनि द्वन्द्व समाधानका लागि शान्ति स्थापना अझै पनि अन्तर्राष्ट्रिय समुदायसँग भएको प्रभावकारी माध्यम रहेको सन्देश दिन्छ।
यस वर्ष संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आगामी जुन ५ मा विशेष समारोहका साथ मुख्य कार्यक्रम आयोजना गरिँदैछ। सो अवसरमा महासचिव एन्टोनियो गुटेरेसले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका ६८ जना सैनिक, प्रहरी तथा नागरिकलाई मरणोपरान्त ‘ड्याग ह्यामार्शोल्ड पदक’ प्रदान गर्नेछन्, जसमा गत वर्ष निधन भएका ५९ जना शान्ति सेनासमेत सामेल छन्।
‘ड्याग ह्यामार्शोल्ड पदक’ बाट मरणोपरान्त सम्मानित हुनेहरूमा नेपालका दुई जना वीर सुरक्षाकर्मी परेका छन्। सन् २०२५ मा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा कार्यरत रहँदा निधन भएका कर्पोरल सुरज लामिछाने तथा सन् २००० मा पूर्वी टिमोरमा सेवाका क्रममा निधन भएका सिपाही देवीराम जैसीलाई उक्त पदक प्रदान गरिनेछ।
नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा सुरक्षाकर्मी योगदान गर्ने विश्वकै सबैभन्दा ठुलो मुलुक हो। हाल नेपालले ३६४ महिलासहित ४ हजार ३०० भन्दा बढी सैनिक तथा प्रहरी कर्मचारीहरूलाई अबेई, मध्य अफ्रिकी गणतन्त्र, साइप्रस, कङ्गो लोकतान्त्रिक गणतन्त्र, कोसोभो, लेबनान, लिबिया, मध्यपूर्व, सोमालिया, दक्षिण सुडान तथा पश्चिमी सहारास्थित विभिन्न ११ वटा शान्ति अभियानहरूमा परिचालन गरेको छ। हाल विश्वभर ११८ देशबाट ५० हजारभन्दा बढी नागरिक, सैनिक तथा प्रहरी शान्ति सेनाका रूपमा कार्यरत छन्।
दिवसका अवसरमा सन्देश जारी गर्दै महासचिव गुटेरेसले शान्ति सेनामाथिका आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घन भएको बताएका छन्। सन् १९४८ यता शान्तिको सेवामा ज्यान गुमाएका झन्डै ४ हजार ५०० शान्ति सेनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले राष्ट्रसङ्घीय कर्मचारीको सुरक्षा सुनिश्चित गर्न सदस्य राष्ट्रहरूले आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिए।
यसै गरी, विशेष समारोहका क्रममा महासचिव गुटेरेसले ‘असाधारण साहसका लागि क्याप्टेन म्बाये डियाग्ने पदक’ उरुग्वेका कर्पोरल माटियास रेयेस र युक्रेनका स्वर्गीय सर्गी प्राइकोडकोलाई प्रदान गर्नेछन्। त्यस्तै, सन् २०२५ का लागि ‘वर्षकै उत्कृष्ट सैन्य लैङ्गिक पक्षधर’ पुरस्कार भारतकी मेजर अभिलाषा बराकलाई र ‘वर्षकै उत्कृष्ट महिला प्रहरी अधिकारी’ पुरस्कार जर्मनीकी स्टेफानी कोनिग्सलाई प्रदान गरिनेछ।
संयुक्त राष्ट्रसङ्घको शान्ति अभियानसम्बन्धी उपमहासचिव जाँ–पियरे लाक्र्वाले पनि द्वन्द्व बढिरहेको र स्रोतसाधन खुम्चिँदै गएको समयमा शान्ति स्थापनामा लगानी गर्नु भनेको स्थायित्व र शान्तिको सम्भावनामै लगानी गर्नु रहेको उल्लेख गरेका छन्।