नेपाली महिला क्रिकेट एसियन गेम्स छनोटको सेमिफाइनलमा
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १४ बिहिबार
750
Shares
काठमाडौँ । नेपाली महिला क्रिकेट टिम जापानमा हुने एसियन गेम्सको छनोटको सेमिफाइनलमा पुगेको छ । बिहीबार सम्पन्न खेलमा इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
पहिलो खेलमा नेपालले चीनलाई १९ रनले हराएको थियो । अब नेपालले फाइनल प्रवेश गर्न समूह एको उपविजेता मलेसियासँग खेल्नेछ। मलेसियाले बिहीबार नै सम्पन्न खेलमा हङकङलाई ३४ रनले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।
मलेसियामा जारी छनोट प्रतियोगिताको बिहीबारको समूह चरणको खेलमा नेपालले इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
कप्तान इन्दू बर्माले कप्तानी इनिङ्स खेल्ने क्रममा ४३ बलमा अविजित रहँदै ४२ रन बनाइन् । प्लेयर अफ द म्याच बनेकी उनले ५ चौका हानेकी थिइन् ।
सोनी पाख्रिन २९ र कविता कुँवर १४ रनमा आउट हुँदा सीता रानामगर ६ बलमा १३ रन बनाएर अविजित रहिन् । पूजा महतोले ९ रन बनाइन् भने सम्झना खड्का १ रनमा आउट भइन् । रुबी पोदार र रुबिना क्षेत्रीले खाता खोल्न सकेनन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले ४ विकेटको क्षतिमा ११३ रन बनाएको थियो । कप्तान नि पुटु आयु नन्दा सकारिनीले ६२ बलमा अविजित रहँदै ५६ रन जोडिन् ।
नेपालका लागि मनिषा उपाध्यायले ९ रन खर्चेर २ तथा रिया शर्माले १ विकेट लिइन् ।
सेमिफाइनल खेलहरू शनिबार हुनेछन् । अर्को सेमिफाइनलमा चीन र थाइल्याण्ड भिड्ने छन् ।