arrow

महिला व्यवसायीमा डिजिटल मार्केटिङप्रति बढ्दो आकर्षण [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १४ बिहिबार
yuba-udhami.jpg

काठमाडौँ। डिजिटल प्रविधिको तीव्र विकाससँगै अहिले व्यवसाय सञ्चालन र प्रवर्द्धनमा ठूलो परिवर्तन आएको छ । डिजिटल मार्केटिङ अन्तर्गत सामाजिक सञ्जाल, एआई टूल्स र अनलाइन प्लेटफर्महरू व्यवसाय विस्तारका महत्वपूर्ण माध्यम बनिरहेका बेला नेपालका साना तथा मध्यम उद्यमीहरूलाई समयअनुकूल सीप प्रदान गर्ने उद्देश्यले ओपन इन्टरनेट नेपाल (इन्टरनेट सोसाइटी नेपाल च्याप्टर) ले ‘डिजिटल उत्थानः डिजिटल युगका लागि काठमाडौँका लघु-उद्यमीहरूलाई सशक्त बनाउने’ परियोजनाअन्तर्गत दोस्रो तथा अन्तिम कार्यशाला सम्पन्न गरेको छ ।

बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रका साना उद्यमी, महिला व्यवसायी, होटल सञ्चालक, हाटबजारमा व्यापार गर्ने व्यवसायी तथा स्वतन्त्र उद्यममा संलग्न व्यक्तिहरूको उल्लेख्य सहभागिता थियो।

कार्यक्रममा सहभागीहरूलाई फेसबुक, टिकटक, गुगल म्याप, गुगल एनालिटिक्स, क्यानभा, क्यापकटलगायतका डिजिटल टुल्स प्रयोग गरेर आफ्नो व्यवसाय कसरी प्रवर्द्धन गर्ने भन्नेबारे सैद्धान्तिक तथा व्यावहारिक दुवै प्रकारको प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यक्रमपछि इन्टरनेट सोसाइटी नेपाल च्याप्टरका अध्यक्ष आशिर्वाद त्रिपाठीले डिजिटल युगमा साना उद्यमीहरूलाई पछाडि पर्न नदिन यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए।

उनका अनुसार कार्यक्रम मे १० बाट शुरू भएको थियो भने मे १७ मा पहिलो चरणको प्रशिक्षण सम्पन्न गरी सहभागीहरूलाई दुई सातासम्म निरन्तर फिडब्याक र सहयोग प्रदान गरिएको थियो । अन्तिम चरण बुधबार सम्पन्न भएको हो ।

उनले भने,‘हामीले काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रका साना उद्यमीहरूलाई डिजिटल शीप सिकाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेका हौँ। अहिले व्यवसाय प्रवर्द्धनका लागि डिजिटल माध्यम अत्यन्त महत्वपूर्ण भइसकेको छ । तर धेरै उद्यमीहरू अझैपनि त्यसबारे पूर्ण जानकारी नहुँदा अवसरबाट वञ्चित भइरहनुभएको छ ।’

विशेषगरी हाँडीगाउँ, भनिमण्डल हाटबजारलगायत क्षेत्रका महिला उद्यमी तथा घरेलु व्यवसाय सञ्चालन गरिरहेका व्यक्तिहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

उनले भने, ‘हामीले होटल व्यवसायीदेखि लिएर हाटबजारमा सामान बिक्री गर्ने साना व्यवसायीहरूलाई सहभागी गरायौँ। उहाँहरूलाई फेसबुक पेज कसरी बनाउने, गुगल म्यापमा आफ्नो व्यवसाय कसरी राख्ने, फोटो तथा भिडियो सामग्री कसरी तयार गर्ने र सुरक्षित तरिकाले डिजिटल प्लेटफर्म कसरी प्रयोग गर्ने भन्ने सिकायौँ।’

उनका अनुसार पहिलो चरणमा सैद्धान्तिक जानकारी दिइएको थियो भने दोस्रो चरणमा सहभागीहरूको आफ्नै सामाजिक सञ्जाल अकाउन्ट खोलेर व्यावहारिक अभ्यास गराइएको थियो।

‘थ्यौरीमात्रै सिकाएर हुँदैन भन्ने बुझाइ हो। त्यसैले उहाँहरूको आफ्नै बिजनेस पेज खोल्न, पोस्ट तयार गर्न, फोटो अपलोड गर्न, भिडियो सम्पादन गर्ने जस्ता काम प्रत्यक्ष गरायौं,’उनले बताए ।

त्रिपाठीले विशेषगरी महिला उद्यमीहरूले तालिमबाट धेरै लाभ लिएको अनुभव जानकारी दिए । ‘टिनएजरहरू त डिजिटल प्लेटफर्ममा पहिलेदेखि नै सक्रिय हुनुहुन्थ्यो। तर महिला उद्यमीहरूले व्यवसाय प्रवर्द्धनका लागि डिजिटल माध्यम प्रयोग गर्न सकिन्छ भन्ने कुरालाई गम्भीर रूपमा लिनुभएको देखियो,’ उनले भने।

उनले इन्टरनेट सोसाइटी नेपाल च्याप्टरले इन्टरनेटलाई सबैका लागि सहज, सुरक्षित र पहुँचयोग्य बनाउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए।

‘हामी इन्टरनेट फर एभ्रिवान भन्ने अवधारणामा काम गरिरहेका छौँ। इन्टरनेट केवल पहुँचमा मात्र सीमित नभई सुरक्षित र सस्तो पनि हुनुपर्छ भन्ने हाम्रो धारणा हो,’ उनले भने।

अध्यक्ष त्रिपाठीले अपाङ्गमैत्री सरकारी वेबसाइट निर्माण, सीमान्तकृत समुदायमा डिजिटल साक्षरता कार्यक्रम, इन्टरनेट सुरक्षा सम्बन्धी सचेतना अभियान लगायतका गतिविधि संस्थाले सञ्चालन गर्दै आएको जानकारी दिए।

उनले नेपाल डिजिटल हब बन्ने सम्भावना भएपनि त्यसका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताए।

कार्यक्रममा सहभागीहरूलाई क्यानभा, क्यापकटलगायतका टुल्समार्फत पोस्टर तथा भिडियो सामग्री तयार गर्ने तालिमसमेत दिइएको थियो।

इन्टरनेट सोसाइटीका संस्थापक आनन्द गौतमका अनुसार कार्यक्रमको उद्देश्य सहरी क्षेत्रका साना तथा घरेलु उद्यमीहरूले सूचना प्रविधिको प्रयोगमार्फत आफ्नो व्यवसाय कसरी प्रवर्द्धन गर्न सक्छन् भन्नेबारे व्यावहारिक ज्ञान दिएका थिए।

उनले पहिलो चरणमा फेसबुक पेज, गुगल म्याप्स, टिकटकलगायतका आधारभूत डिजिटल टुल्सको प्रयोग सिकाइएको र दोस्रो चरणमा कन्टेन्ट निर्माण, रिल्स, टिकटक भिडियो, युट्युब सट्र्स तथा इन्स्टाग्राम प्रयोगबारे तालिम दिइएको बताए।

‘कन्टेन्ट बनाउन लाइट, माइक, साउन्ड र स्क्रिप्ट राइटिङ कति महत्वपूर्ण हुन्छ भन्ने आधारभूत कुरा पनि सिकाएका छौँ,’ उनले भने।

उनले कार्यक्रममा विभिन्न क्षेत्रका उद्यमीहरूको सहभागिता रहेको बताए । उनले भने,‘कोही तरकारी व्यवसायी हुनुहुन्थ्यो, कोही च्याउ खेती गर्ने, कोही ट्याटु आर्टिस्ट, कोही नेवारी खाजा व्यवसायी र कोही घरेलु सामग्री उत्पादन गर्ने उद्यमी हुनुहुन्थ्यो ।’

उनका अनुसार संस्थाले इन्टरनेट पहुँच विस्तार, डिजिटल क्षमता विकास, डिजिटल नीतिसम्बन्धी पैरवी तथा सार्वजनिक सेवा प्रवाहमा डिजिटल प्रविधिको प्रयोग गरी चार मुख्य क्षेत्रमा काम गर्दै आएको छ ।

उनले भने,‘हामी अहिले पनि डिजिटल डिभाइडकै अवस्थामा छौँ। धेरै मानिस अझै गुणस्तरीय इन्टरनेट पहुँचबाट टाढा छन् । त्यसैले मुख्य ध्यान इन्टरनेट पहुँच र त्यसको अर्थपूर्ण प्रयोगमा केन्द्रित छ ।’

उनले संस्थाले हालसम्म ६०० भन्दा बढी सरकारी वेबसाइटलाई अपाङ्गमैत्री बनाउन सहयोग गरिसकेको जानकारी पनि दिए।

के भन्छन् सहभागीहरू ?

तालिममा सहभागी अस्मिता राईले कार्यक्रमले आफूलाई व्यवसाय प्रवर्द्धनका लागि नयाँ आत्मविश्वास दिएको बताइन् ।

उनले आफूले सञ्चालन गरिरहेको फार्मका उत्पादनलाई डिजिटल माध्यमबाट प्रचार गर्ने योजना बनाएको जानकारी दिइन् ।

उनले भनिन्, ‘पहिले कम्पनीको पेज बनाउनुपर्छ भन्ने पनि थाहा थिएन। अहिले गुगल म्यापमा आफ्नो लोकेसन कसरी राख्ने, सामाजिक सञ्जालमा कसरी प्रचार गर्ने भन्ने कुरा सिकेँ ।’

उनका अनुसार फार्मर्स मार्केटमा सामान बेच्दा ग्राहकलाई बारम्बार मौखिक रूपमा जानकारी दिनुपर्ने समस्या हुने गरेको थियो। ‘यदि सामाजिक सञ्जाल र गुगल म्यापमा हाम्रो व्यवसाय राख्न सकियो भने ग्राहकले आफैँ खोजेर आउन सक्नुहुन्छ। यसले व्यवसायलाई धेरै सहज बनाउँछ,’ उनले भनिन्।

उनले तालिमपछि सामाजिक सञ्जाल प्रयोग गरेर आफ्नो व्यवसायलाई अझ व्यवस्थित रूपमा अगाडि बढाउने योजना रहेको पनि बताइन्।

‘पहिले धेरैले भिडियो बनाउनू, टिकटक चलाउनू भन्नुहुन्थ्यो। तर समय छैन र नजानेको कारणले टारिरहेकी थिएँ। अब भने आफैँ सिकेपछि गर्न सक्छु भन्ने आत्मविश्वास आएको छ,’ उनले भनिन्।

अर्की सहभागी कृष्ण नेपालीले तालिमबाट भिडियो निर्माण र डिजिटल प्रचारप्रसारका धेरै महत्वपूर्ण कुरा सिक्न पाएको बताइन्।

उनले आफूले सञ्चालन गर्न लागेको ‘दिल साबुन उद्योग’लाई डिजिटल माध्यमबाट प्रचार गर्ने तयारी गरिरहेको जानकारी दिइन्।

उनले भनिन्,‘टिकटक र भिडियो त बनाउँथ्यौँ। तर कसरी बनाउने, कसरी दर्शकसम्म पुर्याउने भन्ने थाहा रहेनछ । यहाँ आएपछि कमजोरी के रहेछ भन्ने बुझ्यौँ ।’

उनका अनुसार भिडियो बनाउने शैली, सामाजिक सञ्जालमा पोस्ट गर्ने तरिका र व्यवसाय प्रचारका उपायबारे प्रशिक्षण उपयोगी भएको छ । उनले अहिले उद्योग दर्ता गरेर साबुन उत्पादनको तयारी गरिरहेको जानकारी दिइन् ।

उनले भनिन्,‘व्यापार व्यवसायलाई कसरी अगाडि बढाउने, डिजिटल माध्यम किन महत्वपूर्ण छ भन्ने कुरा यहाँ आएर बुझ्यौँ । पहिले गाउँगाउँमा गएर महिलाहरूलाई तालिम दिन्थेँ । अहिले आफैँ उद्योग दर्ता गरेर व्यवसाय शुरू गर्ने प्रयास गरिरहेकी छु । अब केही समयपछि मेरो उत्पादन बजारमा आउँछ ।’ उनले नेपालमै मेहनत गरेर सफलता हासिल गर्न सकिने विश्वास व्यक्त गरिन्।

अर्की सहभागी विद्या तुलाधारले एआई टूल्स, भिडियो सम्पादन र डिजिटल मार्केटिङसम्बन्धी नयाँ ज्ञान सिक्न पाएको बताइन्।

नेवारी खाजा व्यवसाय सञ्चालन गर्दै आएकी उनले डिजिटल माध्यमले आफ्नो व्यवसाय विस्तारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्,‘म पहिलेदेखि सामाजिक सञ्जाल चलाउँथेँ। तर व्यवस्थित रूपमा कन्टेन्ट बनाउने तरिका थाहा थिएन । यहाँ आएपछि भिडियो कसरी एडिट गर्ने, राम्रो कन्टेन्ट कसरी बनाउने भन्ने सिकेँ ।’

उनका अनुसार अहिले बिहीबार भनिमण्डल, मंगलबार धोबीघाट र शुक्रबार छाया सेन्टरमा नियमित रूपमा फुड स्टल सञ्चालन भइरहेको छ । उनले नेपालमा फुड ट्रकजस्ता नयाँ अवधारणालाई सरकारले प्रोत्साहन गर्नुपर्ने धारणा राखिन्।

उनले भविष्यमा फ्रोजन योमरी उत्पादनलाई निर्यात गर्ने योजना रहेको समेत सुनाइन्।

यसैगरी सहभागी विकास देशारले तालिमले आफ्नो सोचमा परिवर्तन ल्याएको बताए । उनले पहिले फेसबुक र टिकटकलाई समय बिताउने माध्यमका रूपमा मात्र हेर्ने गरेको भए पनि अहिले व्यवसाय विस्तार गर्ने प्रभावकारी प्लेटफर्मका रूपमा बुझ्न थालेको बताए ।

उनले भने,‘पहिला सामाजिक सञ्जाललाई त्यति महत्व दिन्नथेँ। पोस्ट गरे पनि कसले हेर्छ भन्ने वास्ता हुँदैनथ्यो। तर यहाँ आएपछि अनलाइन प्लेटफर्म व्यवसाय अगाडि बढाउने राम्रो माध्यम रहेछ भन्ने थाहा पाएँ ।’

१५ वर्षदेखि च्याउ खेतीमा सक्रिय देशारले अहिले च्याउको बीउ उत्पादनसँगै विभिन्न जिल्लामा तालिमसमेत दिँदै आएका छन्।

उनले कृषिलाई पनि प्रविधिसँग जोडेर अगाडि बढाउन सकिने उल्लेख गर्दै तालिमले आफूलाई नयाँ ऊर्जा दिएको बताए।

अर्की सहभागी लक्ष्मी श्रेष्ठले तालिमबाट सामाजिक सञ्जाल र डिजिटल मार्केटिङसम्बन्धी धेरै नयाँ कुरा सिक्न पाएको बताइन्।

उनले टिकटक, फेसबुक, युट्युब र ह्वाट्सएपमार्फत व्यवसायलाई कसरी प्रवर्द्धन गर्ने भन्ने विषयमा उपयोगी ज्ञान प्राप्त भएको बताइन्।

उनले सामाजिक सञ्जालसँग पहिले धेरै नजिक नभए पनि अब सिकेका कुरालाई व्यवहारमा लागू गर्ने योजना रहेको बताइन्।

श्रेष्ठले हाँडीगाउँ क्षेत्रमा नेवारी खाजा स्टल सञ्चालन गर्दै आएकी छन्। उनले आफ्नो व्यवसायलाई अझ राम्रो बनाउँदै थप ग्राहकसम्म पुग्ने लक्ष्य रहेको बताइन्।

डिजिटल युगमा व्यवसाय सञ्चालनको शैली परिवर्तन भइरहेका बेला विशेषगरी महिला उद्यमी र स्थानीय व्यवसायीहरूलाई डिजिटल माध्यम प्रयोगमा सक्षम बनाउने यस्ता कार्यक्रमले आत्मनिर्भर उद्यमशीलता विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ