इन्धन अभाव र मूल्यवृद्धिले असारभित्र सकिनेमा अनिश्चित
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १४ बिहिबार
621
Shares
काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डको निर्माण कार्य निकै सुस्त बनेको छ। पाँच वर्षअघि सुरु भएको यस सडक विस्तार तथा स्तरोन्नति आयोजनाको पटक–पटक म्याद थप गर्दासमेत काम पूरा हुन सकेको छैन। तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्मको ३८.७१ किलोमिटर सडकखण्ड यस पश्चिम खण्डअन्तर्गत पर्दछ।
आयोजनाको म्याद गत पुस महिनामा तेस्रोपटक थप गर्दै आगामी असार १५ गतेसम्म पुर्याइएको थियो। तर, पछिल्लो समयको सुस्त प्रगतिलाई हेर्दा निर्धारित अवधिभित्र निर्माण कार्य सम्पन्न नहुने अनिश्चित बनेको छ।
पछिल्लो समय पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या, निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धि तथा केही दिनयता लगातार परिरहेको वर्षाका कारण निर्माण कार्य नराम्ररी प्रभावित भएको आयोजनाले जनाएको छ। मूल्यवृद्धिका कारण निर्माण कम्पनीले अत्यावश्यकबाहेकका अन्य कामहरूमा अपेक्षित गति दिन नसकेको उल्लेख गरेको छ।
मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत मात्र पुगेको छ। कुल सडकखण्डमध्ये पहिलो तहको कालोपत्रे ३८ किलोमिटर र दोस्रो तहको कालोपत्रे ३७।२८ किलोमिटर सम्पन्न भइसकेको जानकारी उनले दिए।
यस आयोजनाअन्तर्गत २०।५५ किलोमिटर चार लेन सडक तथा १८।१६ किलोमिटर चार लेनसहितको सर्भिस लेन निर्माण गर्नुपर्ने दायित्व छ। योजना प्रमुख कुँवरले इन्धन अभावले निर्माण कार्यमा प्रत्यक्ष र ठूलो असर पारेको बताए। उनका अनुसार निर्माण कम्पनीलाई दैनिक ४ हजार लिटर डिजेल आवश्यक पर्ने भए पनि अहिले मात्र १ हजार ५०० लिटर उपलब्ध भइरहेकाले र निर्माण सामग्रीको मूल्यसमेत अत्यधिक बढेकाले निर्धारित समयमा आयोजना सम्पन्न गर्न कठिन भएको हो।
योजनाका सूचना अधिकारी अनन्त बरालका अनुसार कालोपत्रे सम्पन्न भइसकेका क्षेत्रहरूमा अहिले सर्भिस लेन निर्माण, सडक मार्किङ, थर्मोप्लास्टिक पेन्ट तथा ‘डब्लु बिम रोड सेफ्टी ब्यारियर’ जडान गर्ने कामहरू भइरहेका छन्।
नेपालको प्रमुख विकास साझेदार एसियाली विकास बैंक (एडीबी) को लगानीमा सञ्चालित यस आयोजनाको पश्चिम खण्ड निर्माणका लागि चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको थियो। उक्त चिनियाँ कम्पनीसँग ७ अर्ब ४० करोड रुपैयाँमा निर्माण सम्झौता भएको हो।
यस खण्डको निर्माण सम्झौता विसं २०७८ जेठ २ गते भएको थियो भने विसं २०७८ भदौ १२ गतेदेखि सडक विस्तारको काम औपचारिक रूपमा थालनी गरिएको थियो।