बाढीले क्षति पुर्याएको बीपी राजमार्ग पुनर्निर्माण तीव्र, जाइकाको अनुदानमा दुई लेन बन्ने
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १४ बिहिबार
804
Shares
काठमाडौँ । बीपी राजमार्ग अन्तर्गत काभ्रे–सिन्धुली खण्डको काभ्रेको पिप्लेदेखि सिन्धुलीको बर्खेखोलासम्म बाँकी रहेको सडक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को २ अर्ब ६० करोड रुपैयाँ अनुदान सहयोगमा दुई लेनमा निर्माण गरिने भएको छ। ३.२ किलोमिटर लामो यस सडक खण्डको निर्माण ठेक्का जापानी कम्पनी शिमिजु कर्पोरेसनले लिएको छ भने यसको औपचारिक शिलान्याससमेत भइसकेको छ।
वि.सं. २०८१ सालको असोजमा आएको भीषण बाढीले भकुण्डेबेँसीदेखि नेपालथोकसम्मको ३०।५ किलोमिटर बीपी राजमार्गमा ठूलो क्षति पुर्याएपछि उक्त क्षतिग्रस्त सडक मध्ये २७।३ किलोमिटर सडक पुनर्निर्माणका लागि एक वर्षअघि नै ठेक्का प्रक्रिया अघि बढाइएको थियो।
यस राजमार्गको पुनर्निर्माणका लागि काभ्रेतर्फ तीन र सिन्धुलीतर्फ एक गरी विभिन्न प्याकेजमा निर्माण सम्झौताहरू गरिएका छन्। सिन्धुलीतर्फ बर्खे खोलादेखि गजुलीदहसम्मको ५ किलोमिटर सडक खण्ड खरिढुंगा घिसिङ–क्षितिज जेभीले भ्याट बाहेक ५५ करोड रुपैयाँमा निर्माण गरिरहेको छ। त्यस्तै काभ्रेतर्फ भकुण्डेबेँसीदेखि चारसयबेँसीसम्मको ११ किलोमिटर सडक खण्ड लामा–नवकान्तिपुर जेभीले १ अर्ब १४ करोड रुपैयाँमा ठेक्का लिएको छ।
चारसयबेँसीदेखि डाला बेँसीसम्मको ९ किलोमिटर सडक खण्ड खानी–कमल जित–एवान जेभीले भ्याट बाहेक १ अर्ब २२ करोड रुपैयाँमा निर्माण गर्ने गरी २०८२ असारमा सम्झौता गरेको थियो भने डाला बेँसीदेखि पिप्लेसम्मको २।३ किलोमिटर सडक खण्ड उमा एन्ड कम्पनी–भण्डारी–अमर ज्योति जेभीले ६८ करोड ८० लाख रुपैयाँमा २०८२ कात्तिकमा ठेक्का सम्झौता गरी काम अघि बढाएका छन्।
जाइकाले निर्माण गर्ने सडक खण्डको शिलान्यास पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देल र नेपालका लागि जापानका राजदूत मायदा तोरुले संयुक्त रूपमा सिन्धुली र काभ्रेको सीमा क्षेत्र बर्खेखोलामा गरेका हुन्। उक्त शिलान्यास कार्यक्रममा जाइका नेपालका मुख्य प्रतिनिधि मात्सुजाकी मिजुरी, सुनकोशी र रोशी गाउँपालिकाका जनप्रतिनिधिहरू, निर्माण कम्पनीका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
नेपाल सरकारमार्फत निर्माण भइरहेका सडक र जापान सरकारको अनुदानमा बन्न लागेको सडकको प्रविधि, गुणस्तर र सौन्दर्यमा ठूलो अन्तर देखिने भन्दै स्थानीय बासिन्दाले चासो र चिन्ता व्यक्त गरेका छन्। सडक डिभिजन कार्यालयको निगरानीमा भइरहेको निर्माण कार्यको गुणस्तरमाथि प्रश्न उठ्ने ठाउँहरू प्रशस्तै रहेको औंल्याउँदै स्थानीयले यसमा प्रभावकारी अनुगमन आवश्यक रहेको कुरामा जोड दिएका छन्। जािकामार्फत निर्माण हुने यस सडक खण्डको काम भने यस वर्षको वर्षायाम सकिएपछि तीव्र रूपमा अघि बढाइने जानकारी दिइएको छ।