ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैङ्कबीच २ करोड ५० लाख अमेरिकी डलरको कर्जा सम्झौता, साना व्यवसाय र महिला उद्यमीको वित्तीय पहुँच विस्तारमा सहयोग पुग्ने
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १३ बुधबार
447
Shares
काठमाडौँ। बेलायतको विकास वित्त संस्था तथा प्रभावमुखी लगानीकर्ता ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट (बीआईआई) र लक्ष्मी सनराइज बैङ्क लिमिटेड (एलएसएल) बीच २ करोड ५० लाख अमेरिकी डलर बराबरको कर्जा सुविधा सम्झौता सम्पन्न भएको छ। यस सहकार्यको उद्देश्य नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) लाई वित्तीय पहुँच विस्तार गर्नुका साथै विशेष गरी महिला उद्यमीलाई प्रोत्साहन गर्नु हो।
नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा एमएसएमई क्षेत्रको योगदान करिब २२ प्रतिशत रहेको छ भने यस क्षेत्रले झन्डै २० लाख मानिसलाई रोजगारी प्रदान गरेको छ। तर विश्व बैङ्क र नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार वित्तीय संस्थाको सीमित पहुँच तथा उद्यमीको आवश्यकता र बैङ्किङ प्रक्रियाबीचको असमानताका कारण औपचारिक वित्तीय प्रणालीमार्फत जम्मा १६ प्रतिशत एमएसएमईले मात्र कर्जा सुविधा प्राप्त गर्न सकेका छन्।
यस लगानीमार्फत लक्ष्मी सनराइज बैङ्कले एमएसएमई क्षेत्रमा दीर्घकालीन कर्जा प्रवाह विस्तार गर्नेछ। जसअन्तर्गत कुल सुविधाको ३० प्रतिशत हिस्सा महिलाको नेतृत्वमा रहेका व्यवसायका लागि लक्षित गरिने छ। यस सहकार्यले वित्तीय पहुँचबाट वञ्चित व्यवसायीलाई पुँजी उपलब्ध गराई रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा समावेशी निजी क्षेत्र विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ।
बैङ्कले महिलाको आर्थिक सशक्तीकरणलाई प्रोत्साहन गर्ने विश्वव्यापी पहल ‘२ एक्स चुनौती’ अन्तर्गत मान्यता प्राप्त गरेको छ। बीआईआई यस पहलको संस्थापक सदस्यसमेत हो। बैङ्कको सुशासन, नेतृत्व, रोजगारी र कर्जा पोर्टफोलियोमा लैङ्गिक समावेशिताका क्षेत्रमा देखाएको प्रगतिलाई आधार मानी यो मान्यता प्रदान गरिएको हो। साथै, बीआईआईको प्राविधिक सहयोग कार्यक्रम ‘इन्भेस्ट फर इम्प्याक्ट नेपाल (आईआईएन)’ ले महिला स्वामित्व तथा नेतृत्व भएका व्यवसायलाई सेवा विस्तार गर्न बैङ्कलाई थप सक्षम बनाउन सहयोग गरेको छ।
यस सँगै लक्ष्मी सनराइज बैङ्कले आफ्नो वातावरणीय तथा सामाजिक व्यवस्थापन प्रणाली (ईएसएमएस) अझ सुदृढ बनाउने प्रतिबद्धता पनि जनाएको छ। यसले बैङ्कको दिगोपनासम्बन्धी रणनीति तथा जिम्मेवार बैङ्किङ अभ्यासलाई थप बलियो बनाउँदै वातावरणीय र सामाजिक जोखिम व्यवस्थापन तथा दिगो वित्तीय पहललाई टेवा पुर्याउनेछ।
बेलायतकी हिन्द–प्रशान्त मामिला तथा समानता मन्त्री सीमा मल्होत्राले भनिन्:
“बेलायत लामो समयदेखि नेपालको विश्वसनीय साझेदारका रूपमा रहँदै आएको छ। नेपालको अर्थतन्त्रलाई अझ सुदृढ, समावेशी र समृद्ध बनाउन बेलायतले निरन्तर सहयोग गर्दै आएको छ। विशेष गरी महिलाद्वारा सञ्चालित साना तथा मझौला व्यवसायहरूलाई वित्तीय पहुँच विस्तार गर्न ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टले लक्ष्मी सनराइज बैङ्कसँग सहकार्य गरेको देख्दा उत्साहित छौँ। यो साझेदारी आर्थिक अवसर विस्तार गर्ने, महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने तथा दिगो आर्थिक विकासलाई अघि बढाउने हाम्रो साझा प्रतिबद्धताको उदाहरण हो।”
बीआईआईका एसिया क्षेत्र प्रमुख तथा प्रबन्ध निर्देशक श्रीनी नागराजनले भने:
“बीआईआईले सबैभन्दा बढी प्रभाव पार्न सकिने क्षेत्रमा लगानी केन्द्रित गर्दै आएको छ, र नेपाल हाम्रो फ्रन्टियर मार्केट रणनीतिको महत्त्वपूर्ण हिस्सा हो। यस रणनीतिअन्तर्गत हाम्रो नयाँ लगानीको कम्तीमा २५ प्रतिशत हिस्सा संयुक्त राष्ट्रसङ्घले परिभाषित गरेका अति कम विकसित राष्ट्रहरूमा केन्द्रित हुनेछ। लक्ष्मी सनराइज बैङ्कसँगको सहकार्यमार्फत हामी नेपालका वित्तीय पहुँचबाट वञ्चित व्यवसायलाई सहयोग गर्ने क्षमता र पहुँच भएको अग्रणी वित्तीय संस्थालाई साथ दिइरहेका छौँ। निजी क्षेत्रको दिगो विकासका लागि यस्तो वित्तीय पहुँच अत्यन्त आवश्यक छ।”
लक्ष्मी सनराइज बैङ्कका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराईले भने:
“ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टसँगको यो सहकार्य समावेशी र दिगो बैङ्किङतर्फको हाम्रो यात्रामा महत्त्वपूर्ण उपलब्धि हो। एमएसएमईहरू नेपालको अर्थतन्त्रको मेरुदण्ड भए पनि विशेष गरी महिला नेतृत्वका व्यवसाय अझै औपचारिक वित्तीय पहुँचबाट टाढा छन्। यो २ करोड ५० लाख अमेरिकी डलरको सुविधा मार्फत हामी त्यो खाडल कम गर्न सक्षम हुनेछौँ। २ एक्स चुनौती अन्तर्गतको मान्यताले पनि लैङ्गिक समावेशी वित्तीय सेवाप्रतिको हाम्रो प्रतिबद्धता पुष्टि गरेको छ। बीआईआईसँग मिलेर देशभरका उद्यमी र समुदायका लागि दीर्घकालीन आर्थिक अवसर सिर्जना गर्न हामी उत्साहित छौँ।”
लक्ष्मी सनराइज बैङ्कबारे
लक्ष्मी सनराइज बैङ्क लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट इजाजतप्राप्त ‘क’ वर्गको वाणिज्य बैङ्क हो। बैङ्कले दिगो आर्थिक विकास र वातावरणीय उत्तरदायित्वलाई प्राथमिकता दिँदै देशभर समावेशी वित्तीय सेवा प्रदान गर्दै आएको छ। २५४ शाखा, ३२७ एटिएम तथा सशक्त डिजिटल बैङ्किङ सञ्जालमार्फत बैङ्कले सहरी क्षेत्रदेखि वित्तीय पहुँच कम भएका समुदायसम्म सेवा विस्तार गरेको छ। नेपालको निजी क्षेत्र विकासमा आवश्यक कर्जा प्रवाह गर्दै बैङ्कले उद्यम, व्यवसाय र व्यक्तिगत ग्राहकलाई निरन्तर सहयोग पुर्याइरहेको छ।
ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टबारे
ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट बेलायत सरकारको विकास वित्त संस्था तथा प्रभावमुखी लगानीकर्ता हो। यस संस्थाले विकासशील देशहरूमा लगानी गरी जनजीवन सुधार, गरिबी न्यूनीकरण तथा जलवायु सङ्कटसँग जुध्न सहयोग पुर्याउने उद्देश्य राख्छ। सन् २०२६ देखि २०३१ सम्म बीआईआईका कुल नयाँ लगानी प्रतिबद्धतामध्ये कम्तीमा ४० प्रतिशत हिस्सा जलवायु वित्तमा केन्द्रित हुनेछ। बीआईआई ‘२ एक्स चुनौती’ को संस्थापक सदस्य पनि हो, जसले महिलाको आर्थिक सशक्तीकरणका लागि हालसम्म ३३.६ अर्ब अमेरिकी डलरभन्दा बढी परिचालन गरिसकेको छ। संस्थाको ६६ देशका १,६०० भन्दा बढी व्यवसायमा लगानी रहेको छ भने कुल खुद सम्पत्ति ९.८७ अर्ब पाउन्ड बराबर रहेको छ।