arrow

सिद्धबाबा सुरुङमार्गमा आगामी असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ११ सोमबार
siddhababa-tunnel-vehicle-minister (7).jpg

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्र पारिएको छ। आयोजनाले सुरुङमार्गभित्रका विभिन्न संरचना निर्माण, पहुँच सडक र सुरक्षा व्यवस्थासम्बन्धी कामहरूलाई एकसाथ अगाडि बढाएको जनाएको छ।

आयोजनाका अनुसार सुरुङमार्गको हालसम्मको भौतिक प्रगति ६८ प्रतिशत र वित्तीय प्रगति ५८ प्रतिशत पुगेको छ। पाँच वर्षे निर्माण अवधि तय गरिएको यो आयोजना ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (इपिसी) मोडलमा निर्माण भइरहेको छ, जसअन्तर्गत डिजाइन, स्वीकृति तथा निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै रहने व्यवस्था छ।

आयोजना प्रमुख राजेश पौडेलले सुरुङमार्गमार्फत आगामी असोजसम्ममा यातायात सञ्चालन गर्ने लक्ष्यअनुरूप काम भइरहेको जानकारी दिए। निर्माण सम्पन्न भएपछि आगामी पाँच वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले नै यसको सञ्चालन, मर्मतसम्भार र सुरक्षाको जिम्मेवारी बहन गर्नेछ भने त्यसपछिको थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ (डिएलपी) का रूपमा रहने व्यवस्था गरिएको छ।

आयोजनाको प्रारम्भिक चरणमा कानुनी तथा प्राविधिक जटिलताका कारण निर्माण कार्य केही प्रभावित भएको थियो। नेपालमा इपिसी मोडलको नयाँ अभ्यास भएकाले आवश्यक कागजात व्यवस्थापन, रुख कटान अनुमति तथा बजेट व्यवस्थापनमा देखिएका समस्याले केही समय ढिलाइ हुन पुगेको हो। हाल ती समस्याहरू समाधानतर्फ उन्मुख रहेको र म्याद थप तथा ‘माइलस्टोन’ समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको पौडेलले बताए।

सुरुङमार्गसँगै निर्माण भइरहेको पहुँच सडकमा ‘रिजिड पेभमेन्ट’ गर्ने स्वीकृति समेत प्राप्त भइसकेको छ। सुरुङभित्रबाट यातायात सञ्चालन भएपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा ‘रकसेड’ तथा भिर संरक्षणसम्बन्धी काम गरिने योजना आयोजनाको छ। यसअन्तर्गत पैदलयात्रीका लागि ‘रकसेड’भित्र सुरक्षित बाटो निर्माण गरिनेछ भने बाहिरी क्षेत्रमा खानेपानीको व्यवस्थापन समेत गरिनेछ।

यस आयोजनाको प्रारम्भिक लागत अनुमान करिब १० अर्ब रुपैयाँ रहे पनि प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत करिब ७ अर्ब रुपैयाँमा सम्झौता गरिएको हो। सिद्धार्थ राजमार्गको उक्त खण्ड पहिरो तथा भूक्षयका दृष्टिले अत्यन्तै जोखिमयुक्त मानिने भएकाले यहाँ सुरक्षित यात्रा सुनिश्चित गर्नु र जनधनको क्षति न्यूनीकरण गर्नु नै यस सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य रहेको आयोजनाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ