परराष्ट्र सेवालाई आर्थिक कूटनीतिमा केन्द्रित र परिणाममुखी बनाउनुपर्छ: मन्त्री खनाल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १० आइतबार
408
Shares
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र सेवालाई समयसापेक्ष परिमार्जन गर्दै आर्थिक कूटनीतिमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। आइतबार परराष्ट्र सेवा दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले मन्त्रालय र वैदेशिक नियोगहरूलाई परिणाममुखी बनाउनुपर्ने बताए।
सीमित स्रोत र साधनका बाबजुद राष्ट्रिय सार्वभौमसत्ता र हितको रक्षा गर्न पूर्वप्रशासक र कूटनीतिज्ञहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको मन्त्री खनालको भनाइ थियो। उनले परराष्ट्र नीति आन्तरिक प्राथमिकताको प्रतिविम्ब हुनुपर्ने उल्लेख गर्दै विश्व भू-राजनीतिमा भइरहेको तीव्र परिवर्तन, जलवायु सङ्कट र प्रविधिको विकासले निम्त्याएका चुनौतीहरूलाई सामना गर्न कूटनीतिक चातुर्य र रणनीतिक दूरदर्शिता आवश्यक रहेको औँल्याए।
नेपालले विश्व परिवेशमा हुने परिवर्तनहरूको केवल प्रतिक्रिया मात्र नजनाई, तिनको पूर्वअनुमान गरी राष्ट्रिय हितमा उपयोग गर्नुपर्नेमा उनले विशेष जोड दिए। मन्त्रालयको संस्थागत सुधारका विषयमा बोल्दै मन्त्री खनालले परराष्ट्र मन्त्रालयलाई तथ्याङ्कमा आधारित कार्यप्रणालीमा लैजाने र पूर्ण रूपमा योग्यता प्रणाली लागू गर्ने प्रतिबद्धता व्यक्त गरे।
समारोहलाई सम्बोधन गर्दै उनले भने, "हाम्रो रणनीतिक ध्यान अब आर्थिक कूटनीतिमा केन्द्रित हुनुपर्छ। वैदेशिक प्रत्यक्ष लगानी, पर्यटन प्रवर्द्धन, प्रविधि हस्तान्तरण र बजार पहुँचका लागि परम्परागत शैलीलाई त्यागेर सक्रिय अन्तर्राष्ट्रिय साझेदारी निर्माण गर्नुपर्ने समय आएको छ। वैदेशिक नियोगहरू अब केवल प्रशासनिक अड्डा मात्र नभई लगानी र प्रविधिका केन्द्र बन्नुपर्छ। नियोगको पदस्थापनलाई केवल अधिकारका रूपमा मात्र नभई कार्यसम्पादनमा आधारित जिम्मेवारीका रूपमा लिइनेछ।"