arrow

बदलिँदो विश्व परिवेशमा आर्थिक कूटनीतिलाई प्रमुख प्राथमिकता दिनुपर्छ: परराष्ट्र सचिव राई [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १० आइतबार
amit-rai.jpg

काठमाडौँ । परराष्ट्र सचिव अमृतबहादुर राईले बदलिँदो विश्व परिवेशमा नेपालको परराष्ट्र सम्बन्धलाई परम्परागत राजनीतिक दायराबाट माथि उठाउँदै आर्थिक कूटनीतिलाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। परराष्ट्र सेवा दिवसका अवसरमा आइतबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय हित र समृद्धिका लागि आर्थिक र सार्वजनिक कूटनीतिको भूमिका महत्त्वपूर्ण हुने स्पष्ट पारे। 

अबको कूटनीतिको केन्द्रमा वैदेशिक लगानी आकर्षण, व्यापार प्रवर्द्धन, पर्यटन विस्तार, प्रविधि हस्तान्तरण र उद्यमशीलतालाई राख्नुपर्ने आवश्यकता उनले औँल्याए। आजको युगमा कूटनीति केवल राजनीतिक भेटघाटमा मात्र सीमित नरहेको र विभिन्न राष्ट्रहरूबिच लगानी तथा प्रविधिका लागि प्रतिस्पर्धा भइरहेकाले नेपालले पनि आफ्ना कूटनीतिक प्रयासहरूलाई राष्ट्रिय विकास र आर्थिक अवसर सिर्जनामा केन्द्रित गर्नुपर्ने उनको भनाइ थियो।

नेपालको विशिष्ट ‘सफ्ट पावर’ का बारेमा चर्चा गर्दै सचिव राईले नेपालको सभ्यता, सांस्कृतिक विविधता, आध्यात्मिक परम्परा, प्राकृतिक सौन्दर्य र नेपाली जनताको सहनशीलतालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने बताए। यी सम्पदाहरूको सही परिचालन गर्न सकेको खण्डमा विश्व मानचित्रमा नेपालको प्रतिष्ठा र गरिमा अझ अभिवृद्धि हुने विश्वास उनले व्यक्त गरे।

परराष्ट्र मन्त्रालयको आन्तरिक सुदृढीकरणका विषयमा बोल्दै सचिव राईले मन्त्रालयका सबै तहका कर्मचारीहरूको भूमिका अपरिहार्य रहेको उल्लेख गरे। उच्च तहका अधिकारीहरूले मार्गनिर्देशन गर्ने र युवा अधिकारीहरूले नवीन ऊर्जा र सृजनशीलता प्रदान गर्ने भन्दै उनले सबैमा पेसागत मर्यादा, इमानदारिता र जवाफदेहिता हुनुपर्नेमा जोड दिए। 

हामी जुनसुकै तह वा जिम्मेवारीमा रहे पनि हाम्रो अन्तिम लक्ष्य राष्ट्रिय सेवा र राष्ट्रहितको संरक्षण नै हुनुपर्ने उनको भनाइ थियो। सचिव राईले परराष्ट्र मन्त्रालयलाई एक आधुनिक, सक्षम र मानवीय भावनाले ओतप्रोत संस्थाका रूपमा विकास गर्ने सङ्कल्प व्यक्त गर्दै परराष्ट्र मन्त्रीको नेतृत्वमा मन्त्रालयले संस्थागत सुदृढीकरण र रणनीतिक योजनाका साथ कार्य गरिरहेको जानकारी समेत सो अवसरमा दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ