'लु' का कारण १६ जनाको मृत्यु, स्वास्थ्य सतर्कता जारी
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १० आइतबार
1.4k
Shares
काठमाडौँ । दक्षिणी भारतमा यस गर्मी मौसममा तापलहर (लु) का कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार जनाएका छन्। देशका विभिन्न भागमा फैलिएको तीव्र लुपछि स्वास्थ्य सतर्कता जारी गरिएको छ।
भारतमा गर्मी असामान्य कुरा नभए पनि वैज्ञानिक अध्ययनहरूले जलवायु परिवर्तनका कारण लुहरू पहिलेभन्दा लामो, बढी आवृत्तियुक्त र बढी तीव्र हुँदै गएको देखाएको छ।
एक अर्ब ४० करोड जनसङ्ख्या भएको यस दक्षिण एसियाली राष्ट्रका विभिन्न सहरमा हालै तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेसँगै जनजीवन प्रभावित बनेको छ।
दक्षिणी राज्य तेलङ्गानामा सबैभन्दा बढी मृत्यु दर्ता भएको छ। त्यहाँका राजस्वमन्त्री पोङ्गुलेटी श्रीनिवास रेड्डीले जनस्वास्थ्य सुरक्षाका लागि राज्यव्यापी सतर्कता अपनाउन आह्वान गरेका छन्।
उनी कार्यालयले जारी गरेको विज्ञप्तिमा गर्मीको तीव्रता अभूतपूर्व स्तरमा पुगेको उल्लेख गर्दै समयमै चेतावनी प्रणाली र सावधानीका उपायहरू अपनाउन निर्देशन दिइएको छ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार अत्यधिक गर्मीले शरीरमा पानीको कमी (डिहाइड्रेसन) गराउन सक्छ। यसले गर्दा रगत बाक्लो बनाउने र गम्भीर अवस्थामा अङ्गहरू काम गर्न छोड्ने जोखिम बढाउने गर्छ।
जोखिमलाई मध्यनजर गर्दै तेलङ्गानाको स्थानीय प्रशासनले वृद्ध, बालबालिका र गर्भवतीलाई अत्यावश्यक नभएसम्म दिनको समयमा बाहिर ननिस्कन आग्रह गरेको छ।
यसैबिच, भारतीय मौसम विभागले देशका धेरै भागमा सामान्यभन्दा बढी तापक्रम र तीव्र लु जारी रहने चेतावनी दिएको छ। राजधानी नयाँदिल्ली र आसपासका क्षेत्रमा यस हप्ता लगातार तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।
जसले गर्दा विद्युत मागलाई रेकर्ड स्तरमा पुर्याएको छ। विशेषज्ञहरूका अनुसार दिउँसो मात्र नभई रातको तापक्रम पनि उच्च रहँदा मानिसहरूले पर्याप्त आराम पाउन सकेका छैनन्, जसले स्वास्थ्य जोखिमलाई अझ बढाएको छ।
विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारत हरितगृह ग्यास उत्सर्जन गर्ने देशहरूमध्ये तेस्रो स्थानमा पर्छ र विद्युत् उत्पादनका लागि कोइला उपयोगमा उच्च निर्भरता राख्छ।
भारतले सन् २०७० सम्ममा शुद्ध–शून्य उत्सर्जन हासिल गर्ने प्रतिबद्धता जनाएको छ, जुन धेरै औद्योगिक पश्चिमी देशहरूको लक्ष्यभन्दा करिब दुई दशक पछिको हो।
यसअघि सन् २०१६ मा राजस्थानको फलोदीमा ५१ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो, जसलाई भारतमा हालसम्मकै सबैभन्दा उच्च आधिकारिक तापक्रम मानिन्छ।