काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारी निवास ह्वाइट हाउस नजिक शनिबार राति भएको एक गोलीकाण्डमा एक संदिग्धको मृत्यु भएको छ।
अमेरिकी गोप्य सुरक्षा निकाय (सिक्रेट सर्भिस) का अनुसार उक्त क्षेत्रमा रहेको सुरक्षा चेकपोस्ट नजिकै एक संदिग्ध व्यक्तिले अचानक आफ्नो झोलाबाट हतियार निकालेर सुरक्षाकर्मीमाथि गोली प्रहार गरेका थिए।
संदिग्धले अन्धाधुन्ध गोली चलाउन थालेपछि त्यहाँ तैनाथ सुरक्षाकर्मीहरूले पनि तत्कालै जवाफी फायर गरेका थिए, जसका कारण संदिग्धको घटनास्थलमै मृत्यु भएको हो।
यस हिंस्रक घटनामा परेर एक सर्वसाधारण नागरिक समेत घाइते भएका छन्। गोलीकाण्ड भएको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस भित्रै रहेका थिए ।
यद्यपि सुरक्षा निकायको चुस्त व्यवस्थापनका कारण उनको सुरक्षामा भने कुनै पनि किसिमको असर वा आँच नपुगेको अमेरिकी सुरक्षा अधिकारीहरूले स्पष्ट पारेका छन् ।
ह्वाइट हाउस वरपरको सुरक्षा व्यवस्थालाई थप कडा पारिएको छ भने यस घटनाको कारण र संदिग्धको पृष्ठभूमिका बारेमा अमेरिकी अधिकारीहरूले थप अनुसन्धान गरिरहेका छन्।