arrow

विद्यालयको छानो हुरीबतासले उडायो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १० आइतबार
Jumla--hamrakura.jpg.jpeg

काठमाडौँ । जुम्लाको तिला गाउँपालिका–९ मा रहेको ज्योति माध्यमिक विद्यालयको कक्षाकोठा भवनको जस्तापाताको छानो हुरीबतासले उडाएको छ। शुक्रबार साँझ आएको विनाशकारी हुरीका कारण विद्यालयको भौतिक संरचनामा ठूलो क्षति पुगेपछि विद्यार्थीहरूको पठनपाठन समेत प्रभावित भएको छ।

हुरीबतासले विद्यालयको छानो मात्र नभई कार्यालयमा रहेका महत्त्वपूर्ण कागजातहरू समेत उडाएको छ। वडाध्यक्ष धनबहादुर रावतका अनुसार छानो उडेका कारण अब आगामी दिनमा कक्षा सञ्चालन गर्नका लागि कोठाहरूको अभाव हुने भएको छ।

यसका साथै, राष्ट्रिय लाइनको विद्युत् सेवा अझै नपुगेको सो विद्यालयमा जडान गरिएको सौर्य ऊर्जा (सोलार) प्रणाली समेत हुरीले पूर्ण रूपमा नष्ट गरिदिएको छ। सौर्य ऊर्जामै पूर्ण निर्भर रहँदै आएको विद्यालय अहिले सञ्चार र ऊर्जाविहीन बन्न पुगेको विद्यालयका प्रधानाध्यापक मोतीराम बुढाले जानकारी दिएका छन्।

प्रधानाध्यापक बुढाका अनुसार हुरीबतासका कारण विद्यालयमा करिब १० लाख रुपैयाँ बराबरको भौतिक क्षति पुगेको अनुमान गरिएको छ। स्थानीय समुदाय, अभिभावकहरूको लगानी र श्रमदानबाट निर्माण गरिएको विद्यालय यसरी क्षतिग्रस्त भएपछि आगामी दिनमा नियमित कक्षा सञ्चालनमा थप समस्या पैदा भएको छ। विद्यालय भवनको पुनर्निर्माण गरी पठनपाठन सुचारु गर्नका लागि विद्यालय व्यवस्थापनले विभिन्न सरोकारवाला निकायहरूसँग सहयोगका लागि अपिल समेत गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ