एघार महिनामा ब्युँतियो नारायणहिटीको ऐतिहासिक बगैँचा, थप कक्षहरू पनि खुला गरिने
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ९ शनिबार
511
Shares
काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशक डा. सुरेश सुरस श्रेष्ठले सङ्ग्रहालयको प्रभावकारी व्यवस्थापनका लागि स्पष्ट राष्ट्रिय नीतिको आवश्यकता रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नीतिगत अभावका बाबजुद सङ्ग्रहालयको आधुनिकीकरण, अभिलेखीकरण र भौतिक सुधारका कार्यहरू अगाडि बढिरहेको जानकारी दिए।
कार्यकारी निर्देशक श्रेष्ठले नेपालमा सङ्ग्रहालयशास्त्र (म्युजियोलोजी) अध्ययन गरेका दक्ष जनशक्तिको उपलब्धता पर्याप्त रहेको उल्लेख गरे। त्रिभुवन विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमार्फत उत्पादित जनशक्तिले सङ्ग्रहालय क्षेत्रमा योगदान दिइरहेको बताउँदै उनले उचित नीतिको अभावमा सोचेअनुरूपको फड्को मार्न नसकिएको स्वीकार गरे।
सङ्ग्रहालयमा रहेका ऐतिहासिक र संवेदनशील वस्तुहरूको सुरक्षा र व्यवस्थापनका लागि डिजिटाइजेसन (विद्युतीय अभिलेखीकरण) लाई प्राथमिकतामा राखिएको डा. श्रेष्ठले बताए। ग्यालरीहरूको पूर्ण विवरण तयार भएपछि दर्शकका लागि अत्याधुनिक अडियो गाइड उपलब्ध गराइने उनको भनाइ छ।
सङ्ग्रहालय परिसरमा रहेका ऐतिहासिक हवाई साधन (प्लेन र हेलिकप्टर) तथा पूर्वराजाहरूले प्रयोग गर्ने सवारी साधनहरूलाई मर्मत गरी प्रदर्शनीमा ल्याइएको जानकारी दिइएको छ। यसैगरी, दरबारको ऐतिहासिक बगैँचालाई यसको पुरानै स्वरूपमा फर्काउन ११ महिना लगाएर पुनस्र्थापना गरिएको उनले बताए। सो कार्यमा दरबारकै पुरानो अनुभव भएका कर्मचारीहरूको सीप उपयोग गरिएको र यसलाई ‘जीवन्त इतिहास’ (लिभिङ हिस्ट्री) का रूपमा संरक्षण गरिने प्रतिबद्धता उनले व्यक्त गरे।
उनले भने “नारायणहिटीमा रहेका वस्तुहरू सङ्ख्यात्मक रूपमा धेरै र प्रकृतिमा जटिल छन्। हामीले ती वस्तुहरूको सम्पूर्ण विवरण तयार पारेर अडियो गाइड र डिजिटल प्रणाली कार्यान्वयन गर्ने तयारी गरिरहेका छौँ।”
नारायणहिटी दरबारका थप कक्षहरू सर्वसाधारणका लागि खुला गर्ने सम्बन्धमा अध्ययन भइरहेको र ती कक्षहरूलाई प्रमाणिक आधारमा क्रमिक रूपमा खुला गरिने डा. श्रेष्ठले स्पष्ट पारे।
यस्तै, गणतन्त्र स्मारक परिसरभित्र रहेका केही संरचनाहरू (चमेना गृह र सभा हल) निर्माण कार्य पूर्ण नभएका कारण सञ्चालनमा आउन ढिलाइ भएको उनको भनाइ छ। सहरी विकास मन्त्रालयअन्तर्गत निर्माण भएका ती संरचनाहरूमा पानी चुहिने लगायतका प्राविधिक समस्या रहेकाले मर्मतसम्भार सम्पन्न भएलगत्तै ती क्षेत्रहरू पनि खुला गरिने उनले जानकारी दिए।
सङ्ग्रहालयले मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणका लागि विभिन्न निकायहरूसँग समन्वय गरिरहेको उनले बताए। गुठी परम्परा र संस्कृति संरक्षणका लागि गुठी संस्थान र प्रत्यक्ष रूपमा गुठियारहरूसँगै सहकार्य गर्दा अझ प्रभावकारी हुने उनको सुझाव थियो। सङ्ग्रहालयलाई केवल प्रदर्शनी स्थलका रूपमा मात्र नभई अध्ययन र शिक्षाको केन्द्रका रूपमा विकास गर्न सबै सरोकारवालाहरूको रचनात्मक सहयोग आवश्यक रहेकोमा उनले जोड दिए।