बीपी राजमार्गको मुख्य ट्रयाक खुलाउने तयारी, दश दिनभित्र सञ्चालनमा आउने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ९ शनिबार
532
Shares
काठमाडौँ । बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत सबैभन्दा चुनौतीपूर्ण मानिएको चार सय बेँसी खण्डको नयाँ ट्रयाक आगामी १० दिनभित्र सञ्चालनमा ल्याइने भएको छ।
सङ्घीय संसद्को पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले सो क्षेत्रको स्थलगत अनुगमन गरी निर्माण कार्यको प्रगतिबारे जानकारी दिएका हुन्।
हाल उक्त खण्डमा सवारी साधनहरू तलको डाइभर्सन (वैकल्पिक मार्ग) बाट गुडिरहेका छन्। माथिल्लो मुख्य ट्रयाक खुलिसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भन्ने उद्देश्यले अहिले सर्वसाधारणका लागि यसलाई पूर्ण रूपमा खुला गरिएको छैन।
सभापति गजुरेलका अनुसार उक्त ट्रयाकको फाउन्डेसन तयार भइसकेको छ भने अब केही क्षेत्रमा पर्खाल लगाउने कार्य मात्र बाँकी रहेको छ। अनुगमनका क्रममा आयोजनाका प्राविधिकहरूले पछिल्लो १५ दिनमा ट्रयाक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए। आगामी १० दिनभित्र फिलिङ र बाँकी निर्माण कार्य सकेर माथिल्लो सडकबाटै सवारी साधन गुड्ने वातावरण मिलाइने लक्ष्य राखिएको छ। बाढी वा अन्य कुनै सङ्कटकालीन अवस्था आएमा भने अहिले पनि सो ट्रयाक प्रयोग गर्न सकिने अवस्था रहेको प्राविधिक टोलीको भनाइ छ।
यस खण्डमा करिब सय जना कामदारहरू नियमित रूपमा खटिएका छन्। बहुसङ्ख्यक सर्वसाधारण र सरोकारवालाहरूले कामलाई अझ तीव्र बनाउन तीन सिफ्टमा काम गराउन सुझाव दिएका थिए। तर, कामदारको स्वास्थ्य र अर्को दिनको कार्यक्षमतालाई ध्यानमा राख्दै हाल १० घण्टाको कार्यतालिका अपनाइएको सभापति गजुरेलले स्पष्ट पारे।