arrow

पोल्यान्डमा अमेरिकी सैनिक, नेटो प्रमुखले गरे स्वागत

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ८ शुक्रबार
us-army.jpg

काठमाडौँ ।  उत्तरी एटलान्टिक सन्धि सङ्गठन (नेटो) भित्र युरोपको सुरक्षा रणनीति र अमेरिकी सैन्य उपस्थितिबारे बहस तीव्र भइरहेका बेला नेटो प्रमुखले पोल्यान्डमा थप पाँच हजार अमेरिकी सेना तैनाथ गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणालाई स्वागत गरेका छन्।

नेटोका महासचिव मार्क रुटले स्विडेनमा गठबन्धनका विदेशमन्त्रीहरूको बैठक सुरु हुनुअघि पत्रकारहरूसँग कुरा गर्दै उक्त निर्णयलाई सकारात्मक रूपमा लिएको बताए। उनले सैन्य कमान्डरहरूले तैनाथीसम्बन्धी सबै प्राविधिक विवरणहरूमा काम गरिरहेको जानकारी पनि दिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत दिएको घोषणामा पोल्यान्डका राष्ट्रपति कारोल नावरोकीसँगको बलियो सम्बन्धलाई आधार बनाएर पाँच हजार अमेरिकी सेना पोल्यान्ड पठाइने निर्णय गरिएको बताएका छन्। उक्त निर्णयलाई यसअघि अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले रक्षा बजेट र सैन्य संरचना समीक्षाका क्रममा पोल्यान्ड पठाउन लागिएको ४ हजार सैनिकको टोली रोक्ने भनी गरेको घोषणाको 'यू-टर्न' (उल्टो निर्णय) का रूपमा हेरिएको छ।

विश्लेषकहरूका अनुसार यो कदम युरोपमा जारी सुरक्षा तनाव, विशेष गरी इरानसँग सम्बन्धित युद्धपछिको भू–राजनीतिक दबाब र नेटो सहयोगीहरूबीचको रक्षा जिम्मेवारी बाँडफाँटबारे उठिरहेका प्रश्नहरूसँग समेत सम्बन्धित देखिन्छ। ट्रम्प प्रशासनले युरोपेली मुलुकहरूलाई आफ्नो सुरक्षाका लागि आफैँ बढी खर्च गर्न दबाब दिँदै आएको छ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यसअघि पोल्यान्डमा अमेरिकी सैनिक तैनाथी पूर्ण रूपमा रद्द नभई केही समयका लागि ढिलाइ मात्र भएको सङ्केत गरेका थिए। उनले युरोपेली देशहरूले आफ्नै सुरक्षा खर्च र सैन्य क्षमता बढाउनुपर्नेमा निरन्तर जोड दिँदै आएका छन्।

यसैबीच, स्विडेनकी विदेशमन्त्री मारिया माल्मर स्टेनरगार्डले वासिङ्टनबाट आउने सन्देशहरू र सामाजिक सञ्जालमार्फत हुने नीतिगत घोषणाहरू कहिलेकाहीँ अस्पष्ट हुने र तिनलाई बुझ्न कठिन हुने बताएकी छन्। उनका अनुसार युरोपको प्राथमिकता आफ्नै रक्षा प्रणाली र सैन्य क्षमतामा निरन्तर लगानी गर्नु हो, यद्यपि सुरक्षा सन्तुलनका लागि अमेरिकाको संलग्नता पनि उत्तिकै आवश्यक रहेको छ। उनले थप स्पष्ट पार्दै युरोप रक्षा क्षेत्रमा आत्मनिर्भर हुँदै जाँदा अमेरिकी उपस्थितिमा केही कमी आउनु स्वाभाविक हुन सक्ने धारणा व्यक्त गरिन्।

एस्टोनियाका शीर्ष कूटनीतिज्ञ मार्गस साहकनाले पनि युरोपले आफ्नो परम्परागत रक्षा क्षमतामा अझ धेरै जिम्मेवारी लिनुपर्ने बताएका छन्। उनले अमेरिकी सेनाको कुनै पनि सम्भावित पुनःतैनाथी वा घटाउने प्रक्रिया नेटो र अमेरिकाबीच राम्रो समन्वयका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

उनका अनुसार नेटोको सम्पूर्ण प्रतिरोध क्षमतादेखि युरोपमा अमेरिकी सेनाको उपस्थितिसम्म सबै पक्षलाई एकीकृत रूपमा हेर्न आवश्यक छ। यसै कारण अहिले स्विडेनमा आयोजित विदेशमन्त्रीहरूको बैठकले युरोपेली तथा अमेरिकी पक्षबीच प्रत्यक्ष संवाद, सुरक्षा नीति र भावी सैन्य समन्वयलाई प्राथमिकतामा राखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ