arrow

हुम्लाको पीडामाथि हेलिकोप्टरको छायाँ, जनचित्कार नसुन्ने प्रशासन कसका लागि ?

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८३ जेठ ८ शुक्रबार
helicopter-humla-83-2-8.jpg

हुम्ला । हुम्ला आज केवल सडक अवरुद्ध भएर थुनिएको छैन, राज्यको उदासीनताले पनि घुँडा टेकेको छ। बाजुराको धुलाचौर–पिलु सडकखण्ड बन्द हुँदा सयौँ नागरिक खुला आकाशमुनि अलपत्र परिरहेका छन्। 

बिरामीहरू एम्बुलेन्सभित्र छट्पटाइरहेका छन्, वृद्ध–बालबालिका भोक र त्रासबीच रात काट्न बाध्य छन्, विद्यार्थीको भविष्य बाटोमै रोकिएको छ। तर यस्तो गम्भीर संकटको घडीमा जिल्लाको नेतृत्व गर्ने प्रमुख जिल्ला अधिकारी भने हेलिकोप्टर चढेर हिल्सातर्फ उडेका छन्।

यो दृश्य केवल एउटा प्रशासनिक कमजोरी होइन, राज्यको चरम संवेदनहीनताको प्रत्यक्ष उदाहरण हो। जनताको करबाट तलब खाने प्रशासन संकटमा नागरिकसँग सडकमा उभिनुपर्ने हो, समाधान खोज्नुपर्ने हो, तर यहाँ जनतालाई पीडामा छोडेर सत्ताको सुविधा सुरक्षित गरिएको देखियो। जनता धुलोमा अलपत्र छन्, प्रशासन आकाशमा सयर गरिरहेको छ — यही हो अहिले हुम्लामा देखिएको राज्यको वास्तविक अनुहार।

सडक ४८ घण्टाभन्दा बढी बन्द हुँदा प्रशासनले के गर्‍यो ? किन तत्काल संवाद भएन ? किन सुरक्षा निकाय समयमै परिचालन भएन ? किन बिरामी र यात्रुहरूको उद्धारमा कुनै प्रभावकारी पहल गरिएन ? यी प्रश्नहरूको जवाफ प्रशासनसँग छैन। किनकि समस्या समाधानभन्दा पनि जिम्मेवारीबाट भाग्ने प्रवृत्ति हावी भएको देखिन्छ।

“चिनियाँ पक्षसँग वार्ता” भन्ने तर्क अब जनतालाई ढाँट्ने कमजोर बहाना मात्र बनेको छ। आफ्नै जिल्लाका नागरिक सडकमा रोइरहेका बेला विदेशी सीमातर्फ हेलिकोप्टर उडाउनु कर्तव्यभन्दा बढी गैरजिम्मेवारी हो। जनता संकटमा हुँदा प्रशासन अनुपस्थित हुनु भनेको राज्य नै अनुपस्थित हुनु हो।

हुम्लाका नागरिक आज सडक बन्द भएर मात्र आक्रोशित छैनन्, उनीहरू आफूलाई राज्यबाट अपहेलित र उपेक्षित ठानिरहेका छन्। राजधानीमा यस्तो अवस्था भएको भए के सरकार यति मौन बस्ने थियो ? के त्यहाँ पनि प्रशासन जनतालाई सडकमा छोडेर हेलिकोप्टर यात्रामा निस्किने थियो ? पक्कै होइन। तर हुम्ला भएकै कारण यहाँको पीडालाई हल्का रूपमा लिइयो, जसले राज्यको विभेदपूर्ण चरित्र फेरि उजागर गरेको छ।

आज हुम्लामा सडक मात्र बन्द भएको छैन, राज्यप्रतिको विश्वास पनि चर्किएको छ। जनताको चित्कारमाथि हेलिकोप्टर उडाउन सक्ने प्रशासनले अब आफ्नो नैतिक अधिकार गुमाइसकेको छ। संकटमा नागरिकको साथ दिन नसक्ने राज्य संयन्त्र इतिहासमा कहिल्यै सम्मानित हुँदैन। हुम्लाका नागरिकले आज केवल बाटो खुलाउन माग गरेका छैनन्, उनीहरूले राज्यसँग उत्तरदायित्व, संवेदनशीलता र मानवताको माग गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ