वीरगञ्ज । बजारमा उच्च गुणस्तरको दाबी गर्दै आम उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्ने बहुराष्ट्रिय कम्पनी डाबर नेपालको चरम लापरबाही उदाङ्गो भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा सङ्कलन गरेको डाबर नेपाल प्रा.लि. (जितपुर सिमरा, बारा) द्वारा उत्पादित ५०० ग्रामको ‘डाबर हनी’ (मह) प्रयोगशालामा परीक्षण गर्दा मापदण्ड विपरीत र गुणस्तरहीन पाइएको छ।
यस गम्भीर त्रुटिपछि विभागले उक्त उत्पादनको बिक्री वितरणमा तत्काल रोक लगाउँदै बजारबाट सम्पूर्ण उत्पादन फिर्ता गर्न आदेश जारी गरेको छ।
विभागको आधिकारिक प्रयोगशालामा गरिएको सुक्ष्म परीक्षणले ब्याच नम्बर एनबी००४७७ भएको उक्त मह मानव स्वास्थ्यका लागि सुरक्षित र खानयोग्य नरहेको प्रमाणित गरेको हो।
सन् २०२५ को डिसेम्बरमा उत्पादन भएको भनी १८ महिनाको उपभोग्य मिति तोकिएको यस उत्पादनले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को न्यूनतम मापदण्डसमेत पूरा गर्न सकेन ।
यसैलाई आधार मान्दै विभागका महानिर्देशकको प्रत्यक्ष निर्देशनमा ऐनको दफा ३८(२) र उपदफा (४) को कडा प्रावधान प्रयोग गरी उक्त ब्याचको सम्पूर्ण मह तुरुन्त बजारबाट हटाउन र थप बिक्री वितरण नगर्न उत्पादकलाई चेतावनीसहितको निर्देशन दिइएको छ।
आम उपभोक्तालाई स्वस्थ्यकर उत्पादन दिने भन्दै चर्को विज्ञापन गर्ने डाबर जस्तो प्रतिष्ठित भनिने ब्रान्डकै उत्पादन यसरी न्यूनस्तरको भेटिनुले कर्पोरेट क्षेत्रको मुनाफाखोरी प्रवृत्ति र गुणस्तर नियन्त्रणमा देखिएको चरम बेवास्तालाई छताछुल्ल पारेको छ।
विभागले मिति २०८३ जेठ ५ गते जारी गरेको यस आदेशले उपभोक्तालाई समेत सचेत गराएको छ। आम नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यस्तो संवेदनशील विषयमा ठूला कम्पनीहरूको भर पर्न नसकिने अवस्था सिर्जना भएकाले, सम्बन्धित निकायले यस्ता उद्योगका अन्य उत्पादनहरूमाथि पनि तत्काल कडा र निरन्तर निगरानी बढाउनु नितान्त आवश्यक देखिएको छ।