सांसद केसीले सोधे -प्रधानमन्त्री साह संसद्को अभिन्न अङ्ग जस्तो लागेन, कुनै टापुका सम्राट हुन् कि ? [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ७ बिहिबार
770
Shares
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री वालेन्द्र साह संसद्को अभिन्न अङ्ग जस्तो आफूलाई अनुभूति नभएको टिप्पणी गरेका छन्। बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै नेता केसीले प्रधानमन्त्री संसद्को अङ्ग हो कि होइन? भन्दै सभामुखसँग प्रश्न समेत गरे।
उनले प्रधानमन्त्री साहको कार्यशैलीमाथि प्रश्न उठाउँदै उनी मुलुकको कार्यकारी प्रमुख नभई कुनै छुट्टै टापुको सम्राट जस्तो देखिएको जिकिर गरे। मनसुन सुरु हुन लागेको र विपद् व्यवस्थापनमा सरकार पूर्ण रूपमा गम्भीर हुनुपर्ने बेला गृहमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री साह संसद्मै नआएको भन्दै नेता केसीले कडा आपत्ति जनाए।
संसद्मा आफ्नो धारणा राख्दै सांसद केसीले भने, "सम्माननीय प्रधानमन्त्री नै अहिले गृहमन्त्री हुनुहुन्छ। विपद्को विषय गृह मन्त्रालयले गम्भीरतापूर्वक लिने विषय हो। अब उहाँ नै गृहमन्त्री हुनुहुन्छ। उहाँ स्वयं आफू यो संसद्को अङ्ग हो कि होइन? सभामुखजी, मैले चाहिँ थाहा पाएको छैन है। उहाँ भिन्दै साम्राज्यको कहीँको टापुको सम्राट हो कि यो संसद्को पनि अभिन्न अङ्ग हो? त्यतातिर पनि म ध्यानाकर्षण गराउन चाहन्छु।"
उनले देशमा मनसुनको आगमनसँगै आउने प्राकृतिक विपद् र शान्ति सुरक्षा जस्तो गम्भीर विषयमा सरकारले गहिरोसँग ध्यान दिनुपर्नेमा जोड दिए। विगतका बेथितिहरूलाई नसुधारेसम्म नयाँ थिति बस्न नसक्ने उनको भनाइ थियो।
नेता केसीले सरकारले परम्परागत ढङ्गले मात्र काम गरेर नपुग्ने भन्दै हरेक बेथितिबाट थिति बसाल्ने एउटा निश्चित अवधारणासहितको कार्यगत योजना ल्याउन माग गरे। "विगत वर्षहरूमा भएका बेथितिबाट मात्रै थिति बसाल्न सक्दैनौँ। कार्यगत योजनाबाट मात्रै हामी नयाँ कुराको निर्माण गर्न सक्छौँ," उनले भने।
उनले विपद् व्यवस्थापनका लागि सरकारले पूर्वतयारी र उद्धारका स्पष्ट खाकाहरू संसद्मा प्रस्तुत गर्नुपर्ने र प्रधानमन्त्री आफैँले सदनमा उपस्थित भएर सांसदहरूका प्रश्नको सामना गर्नुपर्ने स्पष्ट पारे।