तनहुँ, गोरखा र मुग्लिन क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ७ बिहिबार
293
Shares
काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्किचोकमा अवस्थित २२०/१३२/३३ केभी सबस्टेसनमा प्राविधिक समस्या उत्पन्न हुँदा विद्युत आपूर्ति अवरुद्ध भएको छ। सबस्टेसनमा रहेको १३२/३३ केभी क्षमताको १२ एमभीए पावर ट्रान्सफर्मरमा समस्या आएको हो।
नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार ट्रान्सफर्मरको अर्थिङ प्रणालीमा खराबी आई अत्यधिक करेन्ट प्रवाह भएपछि हिजो (बुधबार) साँझ ५:३२ बजेदेखि प्रसारण लाइन अवरुद्ध भएको हो। यस सबस्टेसनबाट तनहुँको आँबुखैरेनी, गोरखा जिल्ला तथा मुग्लिन हुँदै चितवनका केही क्षेत्रमा विद्युत आपूर्ति हुँदै आएको थियो, जसका कारण अहिले यी क्षेत्रका ग्राहकहरू प्रभावित भएका छन्।
समस्या समाधानका लागि पोखरा ग्रिड महाशाखाको प्राविधिक टोली तत्कालै कार्यक्षेत्रमा खटिएको थियो। टोलीले रातभर मर्मत सम्भार गरी राति १२:४५ बजे लाइन पुनः सञ्चालनमा ल्याएको थियो। तर, आज (बिहीबार) बिहान ६:४७ बजे फेरि अर्थिङ प्रणालीमै पुरानै समस्या दोहोरिएपछि ट्रान्सफर्मर सुरक्षित राख्न पुनः बन्द गरिएको तनहुँ वितरण केन्द्रका सूचना अधिकारी वेनी नेपालीले जानकारी दिए।
सूचना अधिकारी नेपालीका अनुसार प्रभावित क्षेत्रहरूमा अन्य वैकल्पिक प्रसारण लाइनमार्फत विद्युत आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ।
हाल पोखरा ग्रिडको प्राविधिक टोली मार्किचोक सबस्टेसनमै रहेर ट्रान्सफर्मरको सूक्ष्म जाँच गरिरहेको छ। ट्रान्सफर्मर मर्मत गर्न सकिने अवस्था भए मर्मत गरिने र मर्मत सम्भव नभए आवश्यक परे ट्रान्सफर्मर नै परिवर्तन (रिप्लेस) गर्ने गरी प्राधिकरणले तयारी थालेको छ। प्राविधिक टोलीले काम गरिरहेकाले जतिसक्दो चाँडो विद्युत सेवा पूर्ण रूपमा सुचारु गरिने प्राधिकरणले जनाएको छ।