arrow

इरान नीतिलाई लिएर ट्रम्पसँग नेतान्याहूको आक्रोश

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ७ बिहिबार
trump-netanu-.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच इरानसँग सम्बन्धित कूटनीतिक प्रयासलाई लिएर निकै कडा र कठिन फोनवार्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एक्सीओसले जनाएको छ। दुई नेताबीच इरानसँगको युद्ध अन्त्य गर्ने र नयाँ कूटनीतिक मार्ग अपनाउने विषयमा स्पष्ट मतभेद देखिएको रिपोर्टमा उल्लेख छ।

रिपोर्टका अनुसार अमेरिका र इरानबीच परमाणु कार्यक्रम तथा क्षेत्रीय मुद्दाहरूमा सहमति खोज्न नयाँ कूटनीतिक पहल भइरहेको छ। यस प्रक्रियामा कतार, पाकिस्तान, साउदी अरब, टर्की र इजिप्ट जस्ता देशहरूले मध्यस्थकर्ताको भूमिका खेलिरहेका छन्। कतार र पाकिस्तानले तयार पारेको ‘संशोधित शान्ति मस्यौदा’ का विषयमा ट्रम्पले नेतान्याहूलाई जानकारी गराएका थिए।

उक्त मस्यौदामा अमेरिका र इरानले एउटा ‘आशय पत्र’ मा हस्ताक्षर गरी औपचारिक रूपमा युद्ध अन्त्य गर्ने र इरानको परमाणु कार्यक्रम तथा 'हर्मुज जलमार्ग खुला गर्ने विषयमा ३० दिने वार्ता शुरू गर्ने प्रस्ताव गरिएको छ। यस कूटनीतिक पहलबारे जानकारी पाएपछि प्रधानमन्त्री नेतान्याहु निकै असन्तुष्ट र आक्रोशित भएको स्रोतले जनाएको छ। एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै एक्सीओसले लेखेको छ, “वार्तापछि बीबी (नेतान्याहू) को कपालमै आगो सल्किएको जस्तो (अत्यन्तै आक्रोशित) अवस्था थियो।”

इजरायलले इरानमाथि सैन्य दबाब कायम राख्दै उसको रणनीतिक र सैन्य संरचना पूर्ण रूपमा ध्वस्त पार्नुपर्ने अडान राख्दै आएको छ। प्रधानमन्त्री नेतान्याहुले ट्रम्पलाई प्रस्तावित सैन्य आक्रमण (अपेक्षित नाम: अपरेशन स्लेजह्यामर) रोक्नु गल्ती भएको र यसले इरानलाई मात्र फाइदा पुग्ने तर्क गरेका थिए। तर खाडी क्षेत्रका सहयोगी मुलुकहरूको आग्रहमा ट्रम्पले उक्त सैन्य कारबाही तत्कालका लागि स्थगित गरेका हुन्।

राष्ट्रपति ट्रम्पले आफू कूटनीतिक समाधानका लागि अझै केही दिन (२ देखि ३ दिन) पर्खने मुडमा रहेको तर वार्ता असफल भएमा सैन्य विकल्प (विकल्प बी) सधैँ खुला रहने स्पष्ट पारेका छन्। उनले वर्तमान परिस्थितिलाई सम्झौता र युद्धको 'सिमानामा' रहेको टिप्पणी गरेका छन्।

अर्कोतर्फ, इरानले आफूले अमेरिकी पक्षको दृष्टिकोणसहितको परिमार्जित प्रस्ताव प्राप्त गरेको र त्यसको अध्ययन गरिरहेको जनाएको छ। यद्यपि, इरानले आफ्नो रोक्का गरिएको सम्पत्ति फुकुवा हुनुपर्ने अडान छाडेको छैन।

यस कूटनीतिक असमझदारीका बाबजुद राष्ट्रपति ट्रम्पले नेतान्याहूसँग आफ्नो सम्बन्ध राम्रो रहेको दाबी गर्दै अन्ततः इरानको मामिलामा नेतान्याहूले वासिङ्टनकै नीतिलाई पछ्याउने विश्वास व्यक्त गरेका छन्। ट्रम्पले भनेका छन्, “नेतान्याहूले मैले जे भन्छु त्यही गर्नेछन्, उनी निकै असल मानिस हुन्।” यस संवेदनशील विषयमा हालसम्म ह्वाइट हाउस र इजरायली प्रधानमन्त्रीको कार्यालयले कुनै आधिकारिक वा औपचारिक टिप्पणी भने गरेका छैनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ