इरानसँगको शान्ति वार्तामा उल्लेखनीय प्रगति भएको भान्सको दाबी, हतियार नबनाउने अमेरिकी अडान कायमै
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ७ बिहिबार
1.3k
Shares
काठमाडौँ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको शान्ति सम्झौताका लागि भइरहेको वार्तामा उल्लेखनीय प्रगति भएको बताएका छन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले दुवै पक्ष सैन्य कारबाहीलाई निरन्तरता दिन इच्छुक नरहेको स्पष्ट पारेका हुन्।
उपराष्ट्रपति भान्सका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष निर्देशन बमोजिम अमेरिकाले इमानदारीपूर्वक वार्ता प्रक्रियालाई अगाडि बढाइरहेको छ। यद्यपि, उनले कूटनीतिक प्रयास सफल नभएमा अमेरिकाको 'विकल्प बी'समेत तयार रहेको चेतावनी दिएका छन्। वार्ताको मुख्य एजेण्डाबारे प्रष्ट पार्दै भान्सले इरानले कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नपाउने अमेरिकी अडानलाई पुनः दोहोर्याए।
यसै गरी रुसले इरानको संवर्धित युरेनियम आफ्नो नियन्त्रणमा लिने भनी सार्वजनिक भएका केही प्रतिवेदनहरूलाई उपराष्ट्रपति भान्सले पूर्ण रूपमा अस्वीकार गरेका छन्। उनले यस्तो विषय अमेरिकी सरकारको हालको योजनामा नरहेको र इरानी पक्षले पनि यसमा कुनै चासो नदेखाएको प्रष्ट पारे।
यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानको मध्यस्थतामा भइरहेको वार्तामा सकारात्मक प्रगति भएको जानकारी खाडी क्षेत्रका सहयोगी मुलुकहरूबाट प्राप्त भएको बताएका थिए। वार्तालाई तार्किक निष्कर्षमा पुर्याउनका लागि ट्रम्पले थप दुई देखि तीन दिनको समय उपलब्ध गराएका छन्। यसैबीच राष्ट्रपति ट्रम्पले मंगलबारका लागि तय गरिएको इरानविरुद्धको सैन्य आक्रमणको योजनालाई तत्कालका लागि स्थगित गर्न पेन्टागनलाई निर्देशन समेत दिइसकेका छन्।