arrow

फिर्के खोला अतिक्रमण हटाउने तयारीमा महानगर, जेठ ९ भित्र खोलाघर खाली गर्न अनुरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ७ बिहिबार
pokhara-mahanagar-new-photo.jpg

पोखरा। पोखरा महानगरपालिकाले फिर्के खोलाको संरक्षण, संवर्द्धन तथा सौन्दर्यीकरण अभियानलाई तीव्रता दिँदै खोलाघरभित्र निर्माण गरिएका सम्पूर्ण संरचना हटाउन सम्बन्धित पक्षलाई पुनः आग्रह गरेको छ ।

महानगरले २०८३ जेठ ९ गतेभित्र खोलाघर खाली गर्न सबै सरोकारवालासँग अनुरोध गरेको हो ।

महानगरका अनुसार नदी तथा खोलानाला मानव सभ्यता, वातावरणीय सन्तुलन र प्राकृतिक जीवनचक्रसँग प्रत्यक्ष रूपमा जोडिएका महत्वपूर्ण सम्पत्ति हुन् ।

जल, जमिन र जङ्गलको दिगो व्यवस्थापनले मानव जीवन मात्र होइन, समग्र पारिस्थितिक प्रणालीलाई नै सन्तुलित बनाउन भूमिका खेल्ने उल्लेख गरिएको छ ।

महानगरले पोखराको मध्यभाग हुँदै बग्ने फिर्के खोलाको प्राकृतिक बहाव विभिन्न स्थानमा व्यक्तिगत तथा संस्थागत अतिक्रमणका कारण प्रभावित बनेको जनाएको छ ।

अतिक्रमणका कारण खोलाको अस्तित्व नै संकटमा पर्ने अवस्था सिर्जना भएपछि संरक्षण तथा विशेष सौन्दर्यीकरणको योजनासहित खोलाघर नापजाँच कार्य सम्पन्न गरिएको महानगरको भनाइ छ ।

यसअघि महानगरले २०८० कात्तिक १० गते ३५ दिने सूचना जारी गर्दै खोलाघरभित्र निर्माण भएका संरचना हटाउन आग्रह गरेको थियो ।

उक्त सूचनाविरुद्ध उच्च अदालत पोखरामा मुद्दा दायर भए पनि अदालतले उत्प्रेषण र परमादेश जारी गर्न नपर्ने आदेश दिएको महानगरले जनाएको छ ।

पछिल्लो पटक २०८३ वैशाख ४ गते पुनः सूचना जारी गर्दै महानगरले फिर्के खोलाको प्राकृतिक स्वरूप जोगाउन तथा दीर्घकालीन वातावरणीय संरक्षणका लागि खोलाघर खाली गराउन लागेको स्पष्ट पारेको छ ।

महानगरले तोकिएको समयभित्र स्वेच्छाले संरचना हटाई सहयोग गर्न सम्बन्धित सबै पक्षलाई हार्दिक अनुरोध गरेको छ ।

यस्तो छ सूचना

नदी/खोलानाला मानवीय सभ्यतासँग जोडिएको हुन्छ । मानव सभ्यताको विकासमा जमिन र जङ्गलको जस्तै जलप्रवाहयुक्त खोलानालाहरूको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहन्छ । जल, जमिन र जङ्गल मानव र प्रकृति दुवैका लागि महत्त्वपूर्ण हुन्छ । जलस्रोतको व्यवस्थापन र दिगो उपयोगले समग्र जीवनलाई सहज तुल्याउँछ । नदीहरू प्राकृतिक जलमार्गहरू हुन, जो एक विशिष्ट दिशामा बगिरहन्छन् । नदी तथा खोलाहरूले पृथ्वीको परिदृश्यलाई आकार दिनुका साथै प्राकृतिक तथा मानवीय जीवन चक्रको गतिलाई अगाडी बढाउन सघाउ पुर्‍याइरहेका हुन्छन् ।

पानीको उपलब्धताले जमिनलाई उर्वर बनाउँछ । यसले जीव जनावर तथा समग्र वनस्पतिहरूलाई जीवन प्रदान गर्दछ । खोला मानवीय उपभोग, उत्पादन र औद्योगिक विकासका लागि पानीको एक महत्त्वपूर्ण स्रोत हो । आज मानवीय क्रियाकलापले नदीहरू प्रदूषित बन्ने, प्राकृतिक विपत्तिहरू आउने र जलाधार क्षेत्रको अत्यधिक दोहनले अकल्पनीय वातावरणीय चुनौतीहरू थपिएका छन् । समग्र पारिस्थितिक प्रणालीको संरक्षण र संवर्द्धनका लागि नदी/खोलानालाको संरक्षण आवश्यक छ ।

यसर्थ, पोखराको मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहावमा अवरोध सृजना हुने गरी विभिन्न स्थानमा व्यक्तिगत/संस्थागत रूपमा अतिक्रमण भई खोलाको अस्तित्व समाप्त हुने अवस्था आएकाले यसको संरक्षण, संवर्द्धन र विशेष सौन्दर्यीकरणको योजना सहित पोखरा महानगरपालिकाले फिर्के खोलाको खोला घर नाप जाँच कार्य सम्पन्न गरिसकेको ब्यहोरा यहाँलाई अवगत नै छ ।

खोला घरमा निर्माण भएका सवै प्रकारका संरचनाहरू हटाउन पोखरा महानगरपालिकाले मिति २०८०।०७।१० मा ३५ दिने सूचना प्रकाशित गरेको थियो । सो सूचना उपर सम्मानित उच्च अदालत पोखरामा दायर भएको मुद्दामा सम्मानित अदालतबाट उत्प्रेषण र परमादेशको आदेश जारी गर्न नपर्ने भनी भएको आदेश र पछिल्लो पटक महानगरले मिति २०८३।०१।०४ मा जारी गरेको सूचना समेतका आधारमा फिर्केखोलाको खोलाघर मिति २०८३।०२।०९ गते भित्र खाली गर्नुहुन पोखरा महानगरपालिका सम्बन्धित सवैमा हार्दिक अनुरोध गर्दछ ।

धन्यवाद ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ