arrow

मनसुन पूर्वतयारी

इटहरी र सुर्खेतमा सेनाको हेलिकप्टर 'स्ट्यान्डबाई'

नेपाली सेनाको मनसुन पूर्वतयारी योजना सार्वजनिक: सातै प्रदेशमा खोज र उद्धार टोली अलर्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ७ बिहिबार
army-heli.jpg

काठमाडौँ । नेपाली सेनाले विगतका वर्षहरूमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याएको छ। विपद् व्यवस्थापनको यो अभियानमा सङ्घीय, प्रदेश तथा स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैरसरकारी संस्था र स्थानीय समुदायसँगको सहकार्य तथा समन्वयलाई विशेष प्राथमिकता दिइएको छ।

सेनाका अनुसार विपद्को समयमा तत्काल परिचालन हुन सक्ने गरी जिल्लास्थित गण तथा गुल्महरूमा आवश्यक सङ्ख्यामा फौज तयारी अवस्थामा राखिएको छ। यसका साथै प्रदेशस्थित सबै पृतनाहरूमा आवश्यक उद्धार उपकरणसहित विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली तैनाथ गरिएको छ, जसले बाढी, पहिरो तथा अन्य विपद्का घटनामा छिटो र प्रभावकारी उद्धार गर्न सम्भव हुने अपेक्षा गरिएको छ।

विपद्को समयमा दुर्गम क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्‍याउन सेनाले हेलिकप्टर तथा अन्य हवाई साधनहरूलाई तयारी अवस्थामा राखेको छ। काठमाडौँबाहेक सुर्खेत र इटहरीमा एक–एक वटा हेलिकप्टर ‘स्ट्यान्डबाई’ राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। मनसुनको सुरुआतसँगै सातै प्रदेशमा परिचालन हुन सक्ने गरी अन्य हवाई साधनहरू काठमाडौँमा तयारी अवस्थामा राखिने व्यवस्था मिलाइएको छ भने मौसम पूर्वानुमानका आधारमा दुई वटा हवाई साधनलाई उपयुक्त स्थानमा पूर्वतैनाथ गर्ने योजना समेत रहेको छ।

बाढी तथा पहिरोका कारण राजमार्ग अवरुद्ध भएमा तत्काल यातायात सञ्चालन गर्न विभिन्न रणनीतिक स्थानमा ‘बेलिब्रिज’ तयारी अवस्थामा राखिएको छ। धादिङको गजुरी, चितवनको भरतपुर तथा बाराको जितपुरमा एक–एक सेट बेलिब्रिज राखिएको सेनाले जनाएको छ। यसका साथै गाडीमार्फत सजिलै आवश्यक ठाउँमा पुर्‍याएर तुरुन्त सञ्चालन गर्न सकिने तीन वटा द्रुत यान्त्रिक पुलहरू गौचरस्थित ब्यारेकमा राखिएका छन्। विशेष उद्धार कार्यका लागि शीघ्र प्रतिकार्य टोलीलाई पनि काठमाडौँको गौचर ब्यारेकमै अलर्ट अवस्थामा राखिएको छ, जसलाई हवाई साधनमार्फत तुरुन्त प्रभावित क्षेत्रमा परिचालन गर्न सकिनेछ।

मनसुनजन्य विपद्का समयमा घाइते तथा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन देशभरका सैनिक अस्पतालहरूबाट चिकित्सकसहितको टोली परिचालन गर्न सक्ने गरी आवश्यक जनशक्ति, उपकरण तथा औषधि तयारी अवस्थामा राखिएको छ। यसका साथै प्रत्येक पृतनामा औषधि, खाद्यान्न तथा अन्य राहत सामग्रीको समेत व्यवस्थापन गरिएको छ। आवश्यक परेको खण्डमा पहिरो पन्छाउन र क्षतिग्रस्त संरचनाको मर्मत गर्न सैनिक इन्जिनियरिङ विभागबाट ‘हेभी इक्विप्मेन्ट’ तथा ‘अपरेटर’ सहितका सवारीसाधनहरू तुरुन्त परिचालन हुने गरी राखिएको छ।

विपद् व्यवस्थापन केवल एउटा निकायको प्रयासबाट मात्र सम्भव नहुने भएकाले केन्द्रदेखि जिल्ला तहसम्म सरोकारवाला निकाय तथा स्थानीय समुदायलाई सहभागी गराएर तयारीलाई अझ प्रभावकारी बनाइएको सेनाले जनाएको छ। यसै क्रममा नेपाल सरकारका विभिन्न मन्त्रालय, सरकारी निकाय तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहभागितामा गत वैशाख २१ देखि २३ गतेसम्म जङ्गी अड्डामा केन्द्रीय तहको एकीकृत अभ्यास ‘अभ्यास हातेमालो’ सञ्चालन गरिएको थियो। यस प्रकारका अभ्यासहरू क्रमशः प्रदेश र जिल्ला तहसम्म सञ्चालन गरिने र स्थानीय समुदायको सहभागितामा सामूहिक विपद् प्रतिकार्य तालिम समेत सञ्चालन भइरहेको छ।

सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेटका अनुसार प्रत्येक वर्ष दोहोरिने मनसुनजन्य विपद्को प्रभावकारी प्रतिकार्यका लागि पूर्वतयारी योजनाअनुसार संयुक्त अभ्यास सञ्चालन गर्दै जनधनको क्षति न्यूनीकरण गर्न नेपाली सेना कटिबद्ध रहेको छ। मनसुनजन्य विपद्को चुनौती बढ्दै गइरहेको वर्तमान अवस्थामा सेनाले गरेको यो व्यापक पूर्वतयारीले विपद् व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउनुका साथै नागरिकमा सुरक्षा र भरोसाको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ