arrow

सहकारी बैंकको नेतृत्वमा घिमिरेको दाबी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ६ बुधबार
ramsharan-sharma-sahakari.jpg

काठमाडौँ। राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समितिको निर्वाचन यही जेठ ९ गते हुँदैछ । सातै प्रदेशबाट सञ्चालक चयन गरिने निर्वाचनमा ६ प्रदेशमा नेतृत्व निर्विरोध चयन भइसकेको छ भने बागमती प्रदेशमा प्रतिस्पर्धा हुने भएको छ ।

बागमती प्रदेशबाट सञ्चालक पदका लागि सहकारीकर्मी रामशरण शर्मा घिमिरे सशक्त उम्मेद्वारका रूपमा चुनावी मैदानमा छन् । सहकारी क्षेत्रमा लामो अनुभव हासिल गरेका घिमिरे यतिबेला देशभरका मतदातासँग प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट संवादमा व्यस्त छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले आफ्नो उम्मेदवारी पदका लागि मात्र नभई सहकारी क्षेत्रमा देखिएका चुनौती समाधान गर्दै राष्ट्रिय सहकारी बैंकलाई थप व्यवस्थित, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यसहित रहेको बताएका छन् ।

उनका अनुसार राष्ट्रिय सहकारी बैंक सहकारी क्षेत्रको एक मात्र बैंक भएकाले आगामी दिनमा यसको भूमिका अझ महत्वपूर्ण बन्नेछ । पछिल्लो अध्यादेशले बचत तथा ऋण कारोबार गर्ने संघहरूलाई तीन वर्षभित्र त्यस्तो कारोबार बन्द गर्नुपर्ने व्यवस्था गरेपछि सहकारीहरूको वित्तीय कारोबारको मुख्य केन्द्र सहकारी बैंक बन्ने अवस्था सिर्जना भएको उनले बताए ।

‘देशभरका सहकारी यस बैंकमा आबद्ध छन् । यो नेपालको सबैभन्दा ठूलो नेटवर्क भएको संस्था हो,’ घिमिरेले भने, ‘जति ठूलो सम्भावना छ, चुनौती पनि त्यत्तिकै ठूलो छ ।’

उनले सदस्य संस्थाको बचत संकलन, ऋण लगानी, तालिम, शिक्षा र प्रवर्द्धनलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए । सहकारी ऐन र नियमलाई समयसापेक्ष बनाउन सरकार तथा सहकारी महासंघसँग मिलेर सशक्त पहल गर्नुपर्ने दायित्व सञ्चालक समितिकै काँधमा रहेको उनको भनाइ छ ।

घिमिरेका १० बुँदे प्रतिबद्धता

अध्यक्ष पदका समेत आकांक्षी घिमिरेले निर्वाचनका क्रममा १० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनका मुख्य एजेन्डामा पारदर्शी र जिम्मेवार नेतृत्व, सदस्यहरूको हित र विश्वासको रक्षा, सहकारी क्षेत्रलाई थप बलियो बनाउने योजना तथा प्रभावकारी सेवा विस्तार रहेका छन् ।

त्यसैगरी संस्थागत विकास, नयाँ सोच र कार्ययोजनाको कार्यान्वयन, सदस्यसँग सहकार्य, एकताको भावना विकास, सदस्यमैत्री नीति निर्माण र समृद्ध सहकारी भविष्य निर्माणलाई उनले आफ्नो प्रमुख संकल्पका रूपमा अगाडि सारेका छन् ।

‘सहकारी क्षेत्रमा अहिले देखिएका समस्याको समाधान म्याक्रो लेभलबाट गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘मैले सार्वजनिक गरेका १० बुँदामा सम्पूर्ण सहकारी क्षेत्रको भावना र बैंकको आवश्यकता समेटिएको छ ।’

सुशासन र नियमनमा जोड

सहकारी क्षेत्रमा पछिल्लो समय बढेको अविश्वासप्रति आफू गम्भीर रहेको घिमिरेले बताए । राष्ट्रिय सहकारी बैंक नेपाल राष्ट्र बैंकको नियमनमा रहेकाले आर्थिक पारदर्शितामा खास समस्या नरहेको उनले दाबी गरे ।

तर समग्र सहकारी क्षेत्रमा देखिएको विकृति भने स्वीकार गर्दै उनले नियमन प्रणाली कमजोर रहेको टिप्पणी गरे । ‘नियतवश बदमासी गर्नेहरूको संख्या कम भए पनि त्यसले समग्र क्षेत्रलाई असर गरेको छ,’ उनले भने, ‘८० प्रतिशत सहकारी स्थानीय तहको क्षेत्राधिकारमा छन्, जहाँ दक्ष जनशक्ति र प्राविधिक क्षमताको अभाव छ ।’

उनले सहकारीलाई प्रविधिमैत्री बनाउँदै कर्मचारीतन्त्रलाई चुस्त बनाउनुपर्ने आवश्यकता औंल्याए । साथै, सरकारले सुधारका लागि सहकारीलाई अवसर दिनुपर्ने र गल्ती गर्नेलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने धारणा राखे ।

युवा, महिला र डिजिटल बैंकिङमा प्राथमिकता

घिमिरेले सहकारी क्षेत्रमा युवाको आकर्षण घट्दै जानु र दक्ष जनशक्ति विदेशिनु राज्यकै चुनौती भएको बताए । गाउँका सहकारीहरूले किसानलाई पुँजी र ऋण उपलब्ध गराएर केही हदसम्म युवालाई रोके पनि दीर्घकालीन समाधानका लागि बजार र लगानीको सुनिश्चितता आवश्यक रहेको उनको भनाइ छ ।

‘सहकारी बैंकले प्रत्यक्ष व्यक्तिलाई लगानी गर्न मिल्दैन,’ उनले भने, ‘तर संस्थामार्फत युवा र महिलाका लागि पाँच लाख रुपैयाँसम्मका साना कर्जा कार्यक्रम ल्याएका छौँ, जुन प्रभावकारी भइरहेका छन् ।’

उनले सहकारी क्षेत्रलाई समयअनुकूल डिजिटल प्रणालीमा लैजानुपर्ने आवश्यकता पनि औंल्याए । घरघरमा नगद कारोबार गर्ने पुरानो शैली परिवर्तन गर्दै डिजिटल माध्यमबाट सेवा विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।

राष्ट्रिय सहकारी बैंकको चेक क्लियरिङ प्रणाली पूर्णरूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उनले यसका लागि आफूले लामो समयदेखि पहल गर्दै आएको बताए । चेक क्लियरिङ प्रणाली लागू भए सहकारी क्षेत्रको कारोबार वृद्धि हुनुका साथै सदस्यलाई पनि सहज हुने उनको विश्वास छ ।

नीतिगत सुधारको आवश्यकता

घिमिरेले राष्ट्रिय सहकारी बैंकलाई हाल ‘घ’ वर्गको वित्तीय संस्थासरह सीमित अधिकार दिइएकाले एसएमएस बैंकिङ र डिजिटल पेमेन्ट प्रणालीमा समस्या भइरहेको बताए । अहिले पनि बैंकले अन्य वाणिज्य बैंकको सहारा लिएर प्रविधि सञ्चालन गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

यदि आफू निर्वाचित भए नीतिगत अड्चन हटाएर बैंकलाई स्वतन्त्र रूपमा प्रविधि सञ्चालन गर्न सक्ने अवस्थामा पुर्‍याउन पहल गर्ने उनले प्रतिबद्धता जनाए ।

२०६५ देखि २०७५ सम्म राष्ट्रिय सहकारी बैंकको सञ्चालक रहिसकेका घिमिरेले आफ्नो अनुभव, व्यवस्थापन अध्ययन र सहकारी क्षेत्रसँगको लामो सम्बन्धका आधारमा आफू सक्षम उम्मेदवार भएको दाबी गरे ।

राजनीतिक हस्तक्षेपले सहकारी क्षेत्रको व्यावसायिक छवि प्रभावित भएको उल्लेख गर्दै उनले सहमतिमै नेतृत्व चयन हुनुपर्ने धारणा राखे । सहकारी बैंकलाई केवल बैंकका रूपमा नभई सम्पूर्ण सहकारी अभियानको अभिभावक संस्थाका रूपमा विकास गर्नु आफ्नो मुख्य लक्ष्य रहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ