arrow

देशमा नियम थियो 

logo
शिवप्रसाद पोखरेल,  
प्रकाशित २०८३ जेठ ६ बुधबार
shiva-pd-pokhrel-83-2-6.jpeg

तपाईंहरू पहिल्यै इमान्दार अनि मेहनती हुनुहन्थ्यो । बीसौँ वर्ष अगाडिबाट अवसरको खोजीमा सदरमुकाम आउनु भयो र परिवार पाल्नका लागि तुलनात्मक रूपमा कम खर्च लाग्ने सोचेर खोलाको छेउँमा बसोबास गर्न थाल्नुभयो । 

शुरूमा २-४ जनाको परिवार मात्र बस्न थाले पश्चात् केही चिनजानका साथीभाइ आफन्तलाई जोड्नु भयो । त्यसैगरी अन्य परिवार पनि तपाईंहरूको समिपमानै बसोबास गर्दै जानुभयो । केही वर्ष पश्चात ठूलो संख्याको बसोबासले वस्तीको आकार लियो। 

तपाईंहरूले कसैलाई नसोधी खोलाको छेउँमा बस्ने निर्णय लिँदा पनि यो देश नेपालनै थियो र त्यतिबेला पनि तपाईंहरूलाई थाहा थियो त्यहाँबाट कुनै दिन अन्यत्र जानु पर्छ भन्ने । 

तर जब तपाईंहरूसँगै यो देशमा राजनीति गर्ने भन्ने मानिसहरूसँग उठबस हुन थाल्यो त्यस पश्चात हुँदै नभएको नियमका लागि पाखुरा देखाएर मुख छाड्न थाल्नुभयो । तपाईंहरूलाई उस्काउनेहरूले तपाईंहरूलाई खुल्किनमात्र सिकाए । अनि पुर्खाको सम्पत्ति जसरी उग्राउन थाल्नुभयो। 

तपाईंहरूको गल्ती त्यति ठूलो थिएन यदि १८औँ शताब्दीतिर जन्मिएर नाप जाँच नभएका जमीनमा बसोबास गरेको अवस्था थियो यदि भने । तर २१औँ शताब्दीका मानिसले आफ्नो परिश्रम गर्ने, आफू बसेको देशको नियम मान्ने, सरकारबाट मिल्ने सहयोग पनि लिने र सरकारलाई आवश्यक पर्दा सहयोग गर्ने भन्ने विषय सामान्य नियमभित्र पर्छ र त्यो आज तपाईंहरूले इमान्दारका साथ उक्त भूमिका खेल्नु भएकोमा हार्दिक सम्मान छ यहाँहरूलाई ।
 
सन् २०१२ मा डा बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला करिब १४ वर्ष अगाडि नै अव्यवस्थित रूपमा राजधानीको  खोलाको किनारामा बस्दै गर्दा व्यवस्थित गर्न आँट गर्नु भएको थियो तर तपाईंहरूलाई यो देशमा राजनीतिको नाममा अस्तव्यस्त बनाउन सफलहरूले के समिति, के पार्टी, के युनियनको नाम दिएर त्यतिबेला राज्यभन्दा पनि तपाईंहरू नै बलियो भएको प्रमाणित गरिदिनुभयो । शुरुआत उनै बाबुरामले गरेका हुन् र उनको शिक्षा, सोचाइ, आँट आदि सबल थिए र आज पनि सान्दर्भिक छन् । 

त्यस पश्चात पनि अरु धेरै एकहातका औँला गन्दागन्दै सबै सकिने जतिले सरकार चलाए तर खोलाको छेउँमा अव्यवस्थित रुपमा रहेको बस्तीलाई समस्याको रुपमा लिन मानेनन् । निकै धेरै आयोग आदि बनाएर धेरै नै ढुकुटी सके । समस्या समाधान गर्न भन्दा त्यहाँबाट के फाइदा मिल्छ भनेर हिसाब गर्नेहरूलाई नयाँ सरकारको निर्णय अपाच्य हुन सक्छ । तर केहि फरक पर्दैन । 

बालेन सर ! तपाईं महानगरपालिका प्रमुख हुँदा पनि सुन्दर काठमाडौँको परिकल्पना अनुसार सन् २०२२ नोभेम्बर २८ तारिखमा हालका दिनमा जस्तै पहल गर्ने आँट गर्नुभयो । त्यतिबेला १८औँ-१९औँ शताब्दीमा जस्तै शासन चलाउनेहरू यस देशमा बलिया थिए । त्यसैले सम्भव भएन । उहाँहरूलाई दोष दिनु भन्दा पनि उहाँको पछि लागेर सल्लाह मात्र दिने तर अन्य कुनै व्यवसाय नभएका बेरोजगारहरूको कम्पनीले भूमिका खेले । तिनै बेरोजगारहरू आज मानव अधिकारको पालना भएन भन्दैछन् ।

ई...भएन मानव अधिकार पालना ? हामी साधारण मानिसको भन्दा सुकुमवासी व्यवसाय भएकाहरूको २०औँ वर्षको दैनिकी सहज थियो । राजनीतिले गर्दा अस्तव्यस्त भएको हाम्रो देशमा हालको सरकारले गरेको निर्णयलाई करकापमा पारेर बल प्रयोग भएको भनेर भन्दैछन् । 

यो देशमा जनता राम्रा छन् र अधिकांश परिवारका सदस्यहरूले विदेशमा मरुभूमिमा भेँडा चराउँदै, तिनै भेँडाका लागि पानी खोज्दै दैनिकी जिएका सदस्यहरूले अब परिवर्तनका लागि ढिला भएको आवाज उठाएर गरेको परिवर्तन सही दिशातर्फ जाँदैछ ।  खुच्चिङ खाओ । 

के-के अधिकारवादीले विज्ञप्ति नै निकालेर सरकारको कदमलाई विरोध पनि गरेका छन् । एक राष्ट्रको नियममा नै नभएको स्थानमा केही दशक अगाडिबाट कसैको उक्साहटमा बस्नेहरूको हक हितका लागि भन्ने शब्दहरू चयन गर्दै छन् । ओई हेलिकोप्टर हो कि के हो ? हालसालै परिवारको सदस्यको पर्खाइमा रहेका कुकुर लगायतका जनावरको व्यवस्थापनमा आफ्नो भूमिका खेल । यो कलियुग हो, पापको सजाय यसै युगमा आफैँले भोग्न पाइन्छ । आफ्नो अधिकारका लागि व्यस्तहरूले अर्काको अधिकारको लागि सकारात्मक भूमिका खेल्न सजिलो हुँदैन ।
 
बालेन सरकार, कसैलाई ठूलो स्वर नगरी, कसैलाई एक भाटा पनि नहानी, कसैको विरुद्धमा एक शब्द पनि उच्चारण नगरी विश्वलाई नै सिक्ने उदाहरण प्रस्तुत गर्दै सरकार गठन भएको एक महिनामा जुन काम भएको छ नेपाल विश्वका विभिन्न मुलुकले सिक्न लायक देश बन्दैछ । 

हाम्रो देशको इज्जत बढ्दा हामी नागरिकको इज्जत बढ्दै जानेछ । अब गर्नु पर्ने काम भनेको जथाभावी फोहर फाल्ने सार्वजनिक स्थानमा थुक्ने, अव्यवस्थित रूपमा सडकमा छोडिएका कुकुर लगायतका जनावरको उचित व्यवस्थापन गर्ने कामको थालनी गर्नुस् । बनिसकेको बाटो भत्काएर फ्लाइओभरको नाममा बजेट नसक्नुस् ।

यो देशमा लगभग तीन करोड जनता भएको भन्ने गरेका छौँ । तर वास्तवमा बसोबास गर्ने दुई करोड ७० हजार जति मात्र छौँ । अरु सबै विदेशमा पसिना बगाउँदै हुनुहुन्छ । अब नेपाललाई विश्वको सबैभन्दा सफा, सभ्य नागरिक बस्ने देश, संसारलाई प्रजातन्त्र अभ्यास गर्न लायक देश र हराभरा नदीनाला अनि हिमालय भएको देशको रूपमा परिचय गराउन सक्ने एकमात्र प्रधानमन्त्रीको भूमिका खेलिदिनुस् ।
 
यो देशमा विगतमा पनि नियम थियो तर आफ्नो स्वार्थ अनुसार चलाउन सल्लाह दिनेहरूले नियम पालना गर्ने वातावरण बनाएनन् । बालेन सरकार अब तपाईंको पार्टी नेपाल हो र नेपालका लागि एक्लै भए पनि अगाडि  बढ्नुस् ।

भोट हामीले तपाईंलाई राम्रोसँग जानेर नै दिएका हौँ । यो देशमा नियम हिजो पनि थियो कसैले पालना गर्न धेरै पटक सोच्थे तर आज सजिलै नियम पालना गर्ने वातावरण बन्दै गएको छ। काम नगरे तपाईंको हालत पनि त्यस्तै हुनेछ । अनपेक्षित हुन सक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ