विषालु च्याउ खाँदा गम्भीर बिरामी मनिताको पनि मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ५ मंगलबार
654
Shares
तस्बिर फाइल
काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गलबाट ल्याएको विषालु च्याउ खाँदा गम्भीर बिरामी परेका एउटै परिवारका तीन जना बालबालिकाको निधन भएको छ। मृत्यु हुनेमा ९ वर्षीया नमूना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ रहेका छन्।
राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार बिरामी परेकी ९ वर्षीया नमूनाको यही जेठ १ गते घरमै मृत्यु भएको थियो। उनी कक्षा २ मा अध्ययनरत थिइन्। यस्तै, कक्षा ३ मा पढ्ने ११ वर्षीय सञ्जयको गत शनिबार राति उपचारका क्रममा अस्पतालमा निधन भएको हो भने कक्षा ५ मा अध्ययनरत १३ वर्षीया मनिताको आज (सोमबार) बिहान ६:०० बजे भरतपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रअ मगरले जानकारी दिए।
गत वैशाख २९ गते स्थानीय श्यामबहादुर चेपाङको पाँच जनाको परिवारले जङ्गलबाट टिपेर ल्याएको जङ्गली च्याउ पकाएर खाएका थिए। च्याउ खाएलगत्तै परिवारका सदस्यहरूमा विषक्तताका कारण झाडापखाला, बान्ता र कलेजोमा गम्भीर समस्या देखिएर बिरामी परेका थिए।
बालबालिकाहरूको अवस्था गम्भीर बन्दै गएपछि उनीहरूलाई आकस्मिक उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो। विषाक्त च्याउको कडा असरका कारण उपचारकै क्रममा दुई जनाको अस्पतालमा र एक जनाको घरमै ज्यान गएको हो। बालबालिकाका बुबाआमाले भने कम मात्रामा च्याउ खाएका कारण उनीहरू सकुशल रहेको बुझिएको छ।
मृतक तीन बालबालिकामध्ये जेठ १ र शनिबार मृत्यु भएका दुई जनाको स्थानीय रीतीरिवाज अनुसार दाहसंस्कार भइसकेको छ। आज बिहान मृत्यु भएकी बालिका मनिताको शव भरतपुर अस्पतालबाट बुझेर अन्तिम संस्कारको तयारी भइरहेको प्रअ मगरले बताए। जङ्गली च्याउ चिन्न नसक्दा बर्सेनी यस्ता दुखद घटनाहरू हुने गरेकाले जङ्गलको जथाभाभी च्याउ नखान चिकित्सकहरूले आग्रह गर्दै आएका छन्।