arrow

अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै कर नीतिमा सुधार गर्न महावीर पुनको माग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
mahabir-pun-31.jpg

काठमाडौँ । प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको औद्योगिक विकास र आर्थिक समृद्धिका लागि अनुसन्धान तथा नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन्।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै उनले राज्यको नीति उद्योगमैत्री हुनुपर्नेमा जोड दिएका हुन्।

उनले वर्तमान कर संरचनाले स्वदेशी उत्पादनलाई प्रोत्साहन नगरेको भन्दै तयारी वस्तु र कच्चा पदार्थको आयात नीतिमा असमानता रहेको टिप्पणी गरे।

वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनको अनुभव उल्लेख गर्दै उनले तयारी कृषि औजार आयात गर्दा कर नलाग्ने तर स्वदेशी उत्पादनका लागि आवश्यक कच्चा पदार्थमा भने उच्च भन्सार लाग्ने अवस्था सुधार गर्नुपर्ने बताए।

उनका अनुसार यस्तो नीतिगत असन्तुलनले स्वदेशी उद्योगलाई प्रतिस्पर्धामा कमजोर बनाइरहेको छ।

उनले विकसित मुलुकहरूले कच्चा पदार्थमा कर नलगाउने अभ्यास अपनाइरहेको उल्लेख गर्दै नेपालले पनि त्यही नीति अवलम्बन गर्नुपर्ने धारणा राखे।

सांसद पुनले बौद्धिक सम्पत्ति संरक्षणका लागि नेपालमा व्यवस्थित पेटेन्ट कार्यालयको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। नेपाली आविष्कारकहरूले आफ्ना सिर्जना दर्ता गर्न विदेश जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने उनको भनाइ थियो।

उनले अन्तर्राष्ट्रिय पेटेन्ट दर्ता प्रक्रिया खर्चिलो भएकाले सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने सुझाव दिए। साथै, नयाँ उद्यमी तथा आविष्कारकलाई प्रोत्साहन गर्न प्रारम्भिक चरणमै कर छुटको व्यवस्था आवश्यक रहेको उनले उल्लेख गरे।

पुनले अनुसन्धानका परियोजनालाई एक आर्थिक वर्षभित्र मात्र सीमित नगरी बहुवर्षीय योजना र बजेटको दायरामा राख्नुपर्नेमा पनि जोड दिए। स्वदेशी प्रतिभा र प्रविधिको विकास बिना मुलुक आत्मनिर्भर हुन नसक्ने भन्दै उनले आगामी बजेटमा यी विषयलाई ठोस रूपमा समेट्न सरकारसँग आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ