arrow

क्यानडामा पनि भेटिए हन्टाभाइरस संक्रमित

के हो हन्टाभाइरस र कसरी सर्छ?

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
honta-virus.jpg

काठमाडौँ ।  क्यानडाको सार्वजनिक स्वास्थ्य एजेन्सी (पीएचएसी) ले देशमा पहिलो पटक हन्टाभाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ। संक्रमित व्यक्ति हाल ब्रिटिश कोलम्बियामा आइसोलेसनमा रहेका एक क्रुज यात्रु हुन्।

पीएचएसीले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, ब्रिटिश कोलम्बियाबाट सङ्कलन गरिएका ती यात्रुको नमुना पुष्टि परीक्षणका लागि विनिपेगस्थित राष्ट्रिय माइक्रोबायोलोजी प्रयोगशालामा पठाइएको थियो।

 प्रयोगशाला परीक्षणपछि शनिबार ती व्यक्तिमा हन्टाभाइरस संक्रमण भएको आधिकारिक पुष्टि भएको हो। संक्रमित व्यक्तिसँगै यात्रा गरेका अर्का एक जनाको परीक्षण नतिजा भने नेगेटिभ आएको छ।

यो सङ्क्रमण ध्रुवीय क्षेत्रको भ्रमणमा निस्किएको ‘एमभी होन्डियस’ नामक अभियानात्मक क्रुज जहाजमा देखिएको हो। यस प्रकोपका कारण जहाजमा सवार तीन जनाको ज्यान गइसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

हालसम्म अन्य व्यक्तिमा सङ्क्रमण फेला नपरेको भए पनि उच्च जोखिममा रहेका सम्पर्कहरूलाई आइसोलेसनमा राखिएको छ। स्थानीय स्वास्थ्य अधिकारीहरूले उनीहरूको निरन्तर निगरानी गरिरहेका छन्। पीएचएसीले क्यानडाका सर्वसाधारण जनतामा हालका लागि यो सङ्क्रमणको जोखिम निकै कम रहेको स्पष्ट पार्दै सचेत रहन आग्रह गरेको छ।

के हो हन्टाभाइरस र कसरी सर्छ?
स्वास्थ्य अधिकारीहरूका अनुसार हन्टाभाइरसको इन्क्युबेशन अवधि (भाइरस शरीरमा प्रवेश गरेदेखि लक्षण देखिन लाग्ने समय) सामान्यतया एकदेखि आठ सातासम्मको हुन सक्छ। यो भाइरस प्रायः संक्रमित मुसा वा अन्य कृन्तक (रोडेन्ट) प्रजातिका जनावरको पिसाब, दिसा वा र्‍यालसँग प्रत्यक्ष सम्पर्कमा आउँदा मानिसमा सर्ने गर्दछ।

हन्टाभाइरस सङ्क्रमण भएमा सुरुमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र पछिल्लो चरणमा सास फेर्न गाह्रो हुने जस्ता गम्भीर लक्षणहरू देखिन्छन्। रोगले उग्र रूप लिएमा यसले मानिसको फोक्सो र मुटुमा गम्भीर असर पुर्‍याएर ज्यानसमेत लिन सक्ने भएकाले चिकित्सकहरूले विशेष सावधानी अपनाउन सुझाव दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ