arrow

वैशाखमा घरजग्गा कारोबारबाट उठ्ने राजस्व बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
plotting-land-sold.jpg

काठमाडौँ । मुलुकमा घरजग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै गएको पछिल्लो कारोबार र राजस्व सङ्कलनको विवरणले देखाएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत चैत महिनाको तुलनामा गत वैशाखमा घरजग्गा कारोबारबाट उठ्ने राजस्वमा वृद्धि भएको हो।

गत चैतमा घरजग्गा कारोबारबाट कूल ६ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७ रुपैयाँ राजस्व सङ्कलन भएकामा वैशाख महिनामा वृद्धि भई कूल ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ। यसअघिका महिनाहरूलाई हेर्दा गत फागुनमा ४ अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ रुपैयाँ र माघमा ५ अर्ब ९९ लाख २४ हजार ५३६ रुपैयाँ मात्र राजस्व उठेको थियो, जसले पछिल्ला महिनाहरूमा रियल स्टेट व्यवसाय चलायमान बन्दै गएको सङ्केत गर्दछ।

विभागका अनुसार गत वैशाखमा सङ्कलित ६ अर्ब २६ करोड रुपैयाँमध्ये सबैभन्दा ठूलो हिस्सा रजिष्ट्रेशन दस्तुरको रहेको छ। जसअन्तर्गत रजिष्ट्रेशन दस्तुरबाट ३ अर्ब ३१ करोड ९५ लाख ५० हजार ११७ रुपैयाँ र पूँजीगत लाभकरबाट २ अर्ब ५५ करोड २४ लाख ६४ हजार २२ रुपैयाँ सङ्कलन भएको छ। यस्तै, सेवा करबापत ३४ करोड ४० लाख ६३ हजार ४०२ रुपैयाँ र मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट ४ करोड ४८ लाख ७८ हजार ३१८ रुपैयाँ राजस्व सङ्कलन भएको छ।

यसअघि चैत महिनामा सेवा करमार्फत ३६ करोड १ लाख ५५ हजार ५७१ रुपैयाँ र रजिष्ट्रेशन दस्तुरबापत ३ अर्ब २२ करोड ८४ लाख ६० हजार ५६२ रुपैयाँ सङ्कलन भएको थियो। त्यस्तै, पूँजीगत लाभकरबापत २ अर्ब ५२ करोड ७४ लाख ७० हजार ७३ रुपैयाँ उठेको थियो भने मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबापत ४ करोड ६२ लाख ९९ हजार ७८० रुपैयाँ बराबरको रकम सङ्कलन भएको विभागले जनाएको छ। समग्रमा, चैतको तुलनामा वैशाखमा रजिष्ट्रेशन दस्तुर र पूँजीगत लाभकर दुवैमा वृद्धि भएकाले घरजग्गाको खरिदबिक्री दर बढेको पुष्टि हुन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ