नेतृत्व उमेरले होइन विश्वासले तय हुन्छ : शंकर पोखरेल [भिडियो]
विचारधारासहितको सक्षम र लोकप्रिय नेतृत्व बिनाको राजनीति जनतालाई भ्रममा पार्ने माध्यममात्र बन्ने दाबी
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३ आइतबार
421
Shares
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र नेतृत्वको प्रश्न केवल अपेक्षा वा उमेरको विषय नभई विश्वास र क्षमतासँग जोडिएको बताएका छन् । उनले बहुसंख्यक कार्यकर्ता र सदस्यको विश्वास जित्न सक्ने व्यक्तिमात्र नेतृत्वमा स्थापित हुने बताएका हुन् ।
३३औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित विमर्श कार्यक्रममा बोल्दै पोखरेलले नेतृत्वका लागि वैचारिक स्पष्टता, राजनीतिक दृष्टि र संगठनात्मक क्षमता आवश्यक पर्ने धारणा राखे । पछिल्लो समय पार्टीभित्र नेतृत्व र नीतिमाथि प्रश्न उठिरहेका बेला उनले यस्तो टिप्पणी गरे।
उनले युवापुस्ताले अवसर र जिम्मेवारी माग गर्नु स्वाभाविक र जायज भएको बताए । तर आन्दोलनको समग्र नेतृत्व गर्न सक्ने क्षमता, संगठन सञ्चालनको दक्षता र व्यापक विश्वास निर्माण नगरी केवल आग्रहकै आधारमा नेतृत्व स्थापित हुन नसक्ने उनको भनाइ थियो ।
“नेतृत्व भनेको विश्वासको विषय हो,” उनले भने, “जबसम्म बहुसंख्यक सदस्यको विश्वास जित्न सकिँदैन, तबसम्म नेतृत्व सम्भव हुँदैन ।”
पोखरेलले पछिल्लो समय समाजमा “पुरानाले गरेनन्, नयाँले गर्छन्” भन्ने भाष्य निर्माण गरिएको उल्लेख गर्दै त्यसबाट प्रभावित नहुन पार्टी कार्यकर्तालाई आग्रह गरे ।
उनका अनुसार समाज परिवर्तन र विकास केवल पुस्ता परिवर्तनको विषय नभई राजनीतिक दृष्टि, अनुभव र नेतृत्व क्षमतासँग सम्बन्धित विषय हो ।
उनले युवापंक्तिले वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा आफूलाई सक्षम प्रमाणित गर्न सके नेतृत्व स्वाभाविक रूपमा स्थापित हुने बताए ।
नेतृत्व विकासलाई भावनात्मक आग्रह वा व्यक्तिकेन्द्रित बहसभन्दा संगठनात्मक विश्वास र कार्यक्षमताको आधारमा हेर्नुपर्नेमा उनले जोड दिए ।