arrow

खेलकुदलाई दलीय राजनीतिमुक्त बनाउँछौं : मन्त्री पोखरेल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३ आइतबार
sasmit-pokherl-03-02.jpg

काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रलाई दलीय राजनीतिक प्रभावबाट मुक्त राखेर अघि बढाउने सरकारको नीति रहेको बताएका छन् ।

चौथो संस्करणको नेपाल सुपर लिग (एनएसएल) का बारेमा जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले विद्यालय तहदेखि नै खेलकुदमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याउँदै सानो उमेरबाटै खेलाडी उत्पादनमा ध्यान दिनुपर्ने बताए ।

नेपालभर रहेका २७ हजार विद्यालय र लाखौं विद्यार्थीलाई लक्षित गरेर खेलकुद विकासको दीर्घकालीन योजना बनाउनुपर्ने उनको भनाइ छ ।

“सानै उमेरदेखि लगानी गर्न सकियो भने उत्कृष्ट खेलाडी उत्पादन गर्न सकिन्छ,” उनले भने । मन्त्री पोखरेलले आगामी शैक्षिक पाठ्यक्रममा पनि खेलकुदलाई प्राथमिकताका साथ समावेश गरिने जानकारी दिए ।

खेलकुदलाई केवल अतिरिक्त गतिविधिका रूपमा नभई समग्र व्यक्तित्व विकास र राष्ट्रिय गौरवसँग जोडिएको क्षेत्रका रूपमा हेर्नुपर्नेमा उनले जोड दिए ।

यता एनएसएलको चौथो संस्करण भदौ २० गतेदेखि हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम) ले सो जानकारी दिएको हो । 

यस पटकदेखि एनएसएललाई ‘होम एन्ड अवे’ का आधारमा सञ्चालन गर्ने तयारी गरिएको आयोजकले जनाएको छ । सहभागी टोलीको संख्या पनि बढाएर १० देखि १२ सम्म पुर्‍याउने बताइएको छ।

एनएसएलका हालसम्मका तीनै संस्करण त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकामा यसपालिदेखि होम एन्ड अवेका आधारमा खेलाउने जनाइएको हो । 

प्रतियोगिताको पहिलो संस्करणमा काठमाडौं रेजर्स च्याम्पियन बनेको थियो। त्यसयता ललितपुर सिटी एफसीले लगातार उपाधिमाथि कब्जा जमाउँदै आएको छ।

पहिलो संस्करणमा सात टोली सहभागी भएका थिए । त्यसपको दुई वर्षपछि आयोजित दोस्रो संस्करणमा वीरगञ्ज युनाइटेड एफसी र स्पोर्ट्स इलाम डे मेची एफसी थपिएसँगै टोली संख्या नौ पुगेको थियो ।

तेस्रो संस्करणमा यी दुई टोलीले सहभागिता जनाएनन् र प्रतियोगिता पुनः सात टोलीमै सीमित भएको थियो । अहिले भने आयोजकले फेरि संख्या बढाउने भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ