दश महिनामा ४५ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, कृषिमूलक क्षेत्रमा सबैभन्दा धेरै आकर्षण
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३ आइतबार
321
Shares
काठमाडौँ । चालु आर्थिक वर्षको १० महिना अर्थात् साउनदेखि वैशाखसम्मको अवधिमा नेपालमा ४५ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागको पछिल्लो तथ्याङ्क अनुसार यस अवधिमा कुल ७ सय २८ वटा परियोजनामार्फत ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ लगानीको प्रतिबद्धता आएको हो।
यसअघि गत चैत मसान्तसम्म ६ सय १५ परियोजनामार्फत ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएकोमा वैशाख महिनामा मात्रै थप ११३ वटा परियोजनामार्फत ३ अर्ब ५२ करोड ३० लाख रुपैयाँको लगानी प्रतिबद्धता थपिएको विभागले जनाएको छ।
यस अवधिमा विदेशी लगानीकर्ताहरूको सबैभन्दा ठूलो आकर्षण कृषिमूलक उद्योगमा देखिएको छ, जहाँ कुल प्रतिबद्धतामध्ये आधाभन्दा बढी रकम भित्रिएको छ। विभागका अनुसार केवल १६ वटा परियोजना भए पनि कृषि क्षेत्रमा सबैभन्दा धेरै २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।
त्यस्तै, पर्यटनमूलक क्षेत्रका १८९ वटा परियोजनामार्फत १२ अर्ब ५४ करोड ७० लाख रुपैयाँ लगानी ल्याउने प्रतिबद्धता छ भने सेवामूलक क्षेत्रका ५५ वटा परियोजनाका लागि ४ अर्ब २३ करोड २४ लाख रुपैयाँ सुनिश्चित भएको छ। उत्पादनमूलक क्षेत्रका ४२ वटा परियोजनामार्फत २ अर्ब ७० करोड रुपैयाँ र पूर्वाधार क्षेत्रको एउटा मात्र परियोजनामा १ अर्ब ६५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।
सबैभन्दा धेरै सङ्ख्यामा परियोजना स्वीकृत भएको सूचना प्रविधि क्षेत्रका ४२१ वटा परियोजनामा भने लगानीको परिमाण १ अर्ब ७४ करोड ३८ लाख रुपैयाँ मात्र रहेको छ। यसैगरी ऊर्जामूलक दुई वटा परियोजनामार्फत २३ करोड ४२ लाख रुपैयाँ लगानी आउने भएको छ भने खनिजमूलक दुई वटा परियोजनामा सबैभन्दा कम ११ करोड ५० लाख रुपैयाँ मात्र लगानी प्रतिबद्धता आएको छ।
साना तथा सूचना प्रविधिसम्बन्धी धेरै सङ्ख्याका परियोजना दर्ता भए पनि ठूला परियोजनाका कारण कृषि र पर्यटन क्षेत्रले चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक लगानीको मुख्य हिस्सा ओगट्न सफल भएका छन्।