ऊर्जा अभावले डिमेन्सिया बढ्न सक्ने वैज्ञानिकहरूको नयाँ निष्कर्ष
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३ आइतबार
497
Shares
काठमाडौँ। अमेरिकामा गरिएको एक नयाँ अनुसन्धानले मस्तिष्कमा ऊर्जा उत्पादन गर्ने प्रणाली कमजोर हुँदा डिमेन्सिया तथा स्मरणशक्ति कमजोर हुने समस्या बढ्न सक्ने संकेत गरेको छ ।
वैज्ञानिकहरूले मस्तिष्कका कोशिकाभित्र रहेका ‘माइटोकन्ड्रिया’लाई अस्थायी रूपमा सक्रिय बनाउँदा डिमेन्सियाग्रस्त मुसामा स्मरणशक्ति सुधारिएको बताएका छन् ।
वैज्ञानिक जर्नल नेचर न्यूरोसाइन्स मा प्रकाशित अध्ययन फ्रान्सको बोर्दो विश्वविद्यालय न्यूरोसेन्टर माजेन्डी र क्यानडाको मोन्कटन विश्वविद्यालय का वैज्ञानिकहरूले संयुक्त रूपमा गरेका हुन् ।
अनुसन्धान टोलीले माइटोकन्ड्रियाको गतिविधि अस्थायी रूपमा बढाउने विशेष उपकरण विकास गरेको थियो । उक्त उपकरण प्रयोग गर्दा न्यूरोडिजेनेरेटिभ रोग भएका जनावरमा मस्तिष्कको ऊर्जा उत्पादन प्रणाली सक्रिय भई स्मरणशक्ति सुधारिएको पाइएको अध्ययनमा उल्लेख छ ।
वैज्ञानिकहरूका अनुसार माइटोकन्ड्रियाको कमजोरी केवल रोगको परिणाम मात्र नभई डिमेन्सियाको प्रमुख कारणसमेत हुन सक्ने संकेत देखिएको छ । माइटोकन्ड्रिया कोशिकाभित्र रहेको यस्तो संरचना हो, जसले शरीरलाई आवश्यक ऊर्जा उत्पादन गर्छ । मस्तिष्कले शरीरको धेरै ऊर्जा प्रयोग गर्ने भएकाले न्युरोनहरूबीच सूचना आदानप्रदानका लागि पर्याप्त ऊर्जा आवश्यक पर्ने वैज्ञानिकहरूले बताएका छन् ।
जब माइटोकन्ड्रियाको कार्यक्षमता कमजोर हुन्छ, न्युरोनहरूले पर्याप्त ऊर्जा पाउँदैनन् । त्यसको असर स्मरणशक्ति, सोच्ने क्षमता तथा निर्णय क्षमतामा पर्न थाल्छ। अनुसन्धानकर्ताहरूले ‘मिटोड्रेड-सीए’ नामक कृत्रिम रिसेप्टर विकास गरी माइटोकन्ड्रियाभित्र रहेका जी-प्रोटिन सक्रिय गरेका थिए । यसले माइटोकन्ड्रियाको गतिविधि सामान्य अवस्थामा फर्काएको र डिमेन्सिया भएका मुसामा स्मरणशक्ति सुधारिएको अध्ययनमा उल्लेख गरिएको छ ।
अध्ययनका सह-लेखक जियोभेनी मार्सिक्यानो ले माइटोकन्ड्रियाको खराबी र न्यूरोडिजेनेरेटिभ रोगका लक्षणबीच प्रत्यक्ष सम्बन्ध देखिएको बताएका छन् । उनका अनुसार माइटोकन्ड्रियाको कमजोरी न्युरोन नष्ट हुनुभन्दा अगाडि नै सुरु हुन सक्छ ।
यद्यपि यो अनुसन्धान हालसम्म जनावरमा मात्रै सीमित रहेकाले मानिसमा यसको प्रभावकारिता पुष्टि हुन बाँकी रहेको वैज्ञानिकहरूले बताएका छन् । दीर्घकालीन रूपमा माइटोकन्ड्रियालाई सक्रिय राख्दा रोगको गति कम गर्न वा न्युरोनको क्षति रोक्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा थप अध्ययन आवश्यक रहेको उनीहरूको भनाइ छ ।
हालसम्म अल्जाइमर रोगमा ‘एमाइलोइड प्लाक’ र ‘टाउ ट्याङ्गल’लाई मुख्य कारण मानिँदै आएको थियो । तर पछिल्ला अध्ययनहरूले ऊर्जा उत्पादन, मेटाबोलिज्म, सूजन र कोशिकीय तनावलाई पनि डिमेन्सियाको प्रारम्भिक कारणका रूपमा हेर्न थालेका छन् । वैज्ञानिकहरूका अनुसार यो अनुसन्धानले डिमेन्सियाविरुद्धको उपचार खोजीमा नयाँ दिशा खोल्न सक्छ ।