arrow

मानसरोवर कैलाश दर्शनका लागि बढ्यो चहलपहल, चार दिनमा १६९ जना सिमकोट पुगे

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३ आइतबार
skimikot-airport.jpg

काठमाडौँ । वर्षायामको सुरुआतसँगै मानसरोवर कैलाश पर्वतको दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकहरूको सङ्ख्या हुम्लाको सिमकोटमा बाक्लिन थालेको छ। नयाँ सिजन शुरू भएपछि नेपालगन्जबाट हवाईमार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोट र त्यहाँबाट हिल्सा नाका भएर चीनतर्फ जाने पर्यटकहरूको आवागमन बढेको हो।

सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहका अनुसार वैशाख ३० गतेदेखि यात्रा सिजन सुरु भएको चार दिनमा मात्रै १६९ जना तीर्थयात्री सिमकोट पुगेका छन्। यसरी आउनेहरूमा १४७ जना भारतीय र अन्य विभिन्न देशका २२ जना यात्री रहेका छन्।

प्रतिकूल मौसमका बाबजुद शनिबार मात्रै समिट एयरको जहाजले तीनवटा उडान भरेर ४७ जना तीर्थयात्रीलाई सिमकोट पुर्‍याएको छ। शनिबार आइपुगेकामध्ये २३ जना यात्रीसँग कैलाश मानसरोवर जाने चिनियाँ परमिट नभएका कारण उनीहरू सिमकोटमै रोकिनुपरेको छ। सरकारको निर्णयअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा हुने भएकाले परमिट आउन ढिलाइ हुँदा ती २३ जना भारतीय तीर्थयात्री सिमकोटमै बस्ने व्यवस्था मिलाइएको छ।

चार दिनको यो उत्साहजनक सङ्ख्याले यस वर्ष मानसरोवर जाने धार्मिक पर्यटकको सङ्ख्या अझै बढ्ने विश्वास गरिएको छ। विसं २०७२ को महाभूकम्पपछि हिल्सा नाकाबाट भारतीय पर्यटकहरू यस मार्गमा आउन सुरु गरेका थिए। बीचमा कोरोना महामारीका कारण हिल्सा नाका बन्द हुँदा यो यात्रा ठप्प भएको थियो।

चीन सरकारले गत वर्षदेखि पुनः भारतीय पर्यटकलाई हिल्सा मार्ग हुँदै मानसरोवर कैलाशको यात्रा गर्न अनुमति दिएपछि गत वर्ष मात्रै चार महिनाको अवधिमा ६ हजार ५०० भारतीय पर्यटकले यस क्षेत्रको धार्मिक यात्रा गरेका थिए। यस वर्षका लागि भने गत वैशाख ३० गते पहिलोपटक तीर्थयात्रीहरूको टोली सिमकोट पुगेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ