नेपालको परराष्ट्र नीतिमा आत्मविश्वास आवश्यक : अधिकारी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २ शनिबार
309
Shares
काठमाडौँ । परराष्ट्र मामिला तथा सुरक्षा विज्ञ इन्द्र अधिकारीले नेपालको परराष्ट्र कूटनीति सञ्चालनका क्रममा ऐतिहासिक कालदेखि नै शासकहरू देशको संवेदनशील भू-अवस्थितिप्रति सचेत रहेको बताएकी छन् ।
उनका अनुसार नेपालले विभिन्न राजनीतिक प्रणालीमा आफ्नो सार्वभौमसत्ता जोगाउँदै आए पनि कूटनीतिक अभ्यासमा कतिपय अवस्थामा हिनताबोध झल्किने गरेको देखिन्छ ।
नेपालले कानूनी रूपमा (डिज्युरे) सार्वभौमसत्ता कायम राखे पनि व्यवहारिक रूपमा (डिफ्याक्टो) आफूलाई कमजोर वा ‘इन्फेरियर’ रूपमा प्रस्तुत गर्ने प्रवृत्ति रहेको उनको विश्लेषण छ ।
पृथ्वीनारायण शाहको ‘दुई ढुंगाबीचको तरुल’ भन्ने भनाइलाई सन्दर्भ दिँदै उनले उक्त अवधारणाले नेपाललाई कमजोर र असहाय राज्यका रूपमा चित्रण गरेको धारणा व्यक्त गरेकी छन् ।
नेपाललाई ‘बफर जोन’ मान्ने विषयमा स्पष्ट पार्दै उनले नेपालले आफूलाई औपचारिक रूपमा कहिल्यै ‘बफर स्टेट’ स्वीकार नगरेको उल्लेख गरेकी छन् ।
उनका अनुसार ‘बफर स्टेट’ हुनका लागि दुई ठूला शक्ति राष्ट्रबीचको सहमति र प्रभाव सीमांकन आवश्यक हुन्छ, जुन अवस्था नेपालमा लागू हुँदैन । त्यसैले नेपाललाई त्यस्तो परिभाषामा राख्नु गलत हुने उनको तर्क छ ।
उनले भनेकी छन्, “त्यो समयको सन्दर्भमा उक्त भनाइको व्यवहारिक महत्व भए पनि यसलाई परराष्ट्र नीतिको मूल मन्त्र बनाइनु हिनताबोधपूर्ण छ । यसले नेपाललाई सधैं कमजोर र असुरक्षित महसुस गराउने भाष्य निर्माण गरेको छ ।”
उनले हाल सरकारले अघि सारेको ‘बफर टु ब्रिज’ अवधारणामाथि चर्चा गर्दै नेपालले आफ्नो भूराजनीतिक संवेदनशीलतालाई अवसरमा बदल्नुपर्ने बताएकी छन् ।
दुई छिमेकीबीच सन्तुलित कूटनीति कायम गर्दै नेपालले आफ्नो सार्वभौम हैसियतलाई दृढ रूपमा प्रस्तुत गर्नुपर्ने उनको सुझाव छ ।