arrow

आइतबारदेखि एक महिना कडा मलमास लाग्दै, कसले कति बार्ने ? नवविवाहिताले बार्नै पर्छ ?

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०८३ जेठ २ शनिबार
malmas-adhikmas-hamrakura.jpg

काठमाडौँ । यस वर्ष अर्थात् २०८३ सालको जेठ महिनाको ३ देखि असार १ गतेसम्म मलमास अर्थात् अधिकमास परेको छ । मासको अर्थ महिना हो । खासमा यसको नाम मलमास नभएर अधिकमास हो ।

एउटै महिनामा दुईटा औंशी परेमा त्यसलाई मलमास भनिन्छ । यसलाई पुरुषोत्तम मास पनि भनिन्छ । जेठ महिनाको २ गते शनिबार र ३१ गते आइतबारका दिन औंशी तिथि परेको छ।

पञ्चांग गणनाको सूर्यमानअनुसार वर्षमा ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जब कि चन्द्रमान अनुसार वर्षमा ३५४ दिन, २२ घडी, १ पला र २३ विपला हुन्छ । सूर्य तथा चन्द्रमानबीच वर्षमा १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तर हुने गर्छ । यसै अन्तरलाई समायोजित गर्नका लागि ‘अधिक मास’को व्यवस्था गरिएको पाइन्छ ।

अधिक मास प्रत्येक तीन वर्षमा एकपटक आउँछ । यो फागुनदेखि कात्तिकको बीचमा पर्ने गर्छ । जुन वर्ष अधिक मास पर्छ त्यो वर्ष १२ को स्थानमा १३ महिना हुन्छ । अधिका मासको निर्णय सूर्य सङ्क्रान्तिको आधारमा गरिन्छ । जुन महिनामा सूर्य सङ्क्रान्ति हुँदैन त्यसलाई अधिक मास भनिन्छ ।

ज्योतिषशास्त्रीय दृष्टिकोणले अधिमास, अधिकमास तथा पौराणिक दृष्टिले पुरुषोत्तम मास, पुरुषोत्तम महिना भनिने यो महिना हरेक ३३ महिनामा पर्दछ । जुन चान्द्रमासमा सूर्यसङ्क्रान्ति हुँदैन, त्यो महिनालाई अधिमास भनिन्छ ।

अर्को अर्थमा भन्दा यदि चान्द्रमासको दुवै पक्षमा सूर्य सङ्क्रान्ति हुँदैन अर्थात् सूर्य कुुनै पनि राशिमा प्रवेश गर्दैन भने त्यो सङ्क्रान्तिहीन महिना गणना गर्दा फाल्टु हुन्छ र यही फाल्टु महिनालाई चलनचल्तीको भाषामा अधिकमास, अधिमास, मलमास, पुरुषोत्तम मास या पुरुषोत्तम महिना भनिन्छ ।

मलमासको पौराणिक कथन

प्रत्येक राशि, नक्षत्र, करण, महिना आदिका स्वामी छन् तर अधिक मास अर्थात् मलमासको स्वामी हुँदैनन् । यसकारण अधिक मासमा सम्पूर्ण शुभ कार्य, देव कार्य एवं पितृ कार्य गर्न हुँदैन। यद्यपि, पुराणमा अधिक मास पुरुषोत्तम मास कसरी बन्न पुग्यो भन्ने रोचक कथा दिइएको छः

कथाअनुसार स्वामी अर्थात् मालिक नभएका कारण अधिक मासलाई सबैले मलमास भन्न थाले । यसबाट मलमासको निन्दा हुन थाल्यो । यो कुराबाट दुःखी भएको मल मास भगवान् विष्णुकहाँ पुग्यो र आफ्नो दुःख बिसायो । भक्तवत्सल श्रीविष्णुले उसलाई गोलोक लिएर गए । गोलोकमा भगवान् कृष्ण विराजमान थिए । दयासागर श्रीकृष्णले मलमासको व्यथा बुझेर उसलाई सान्त्वना दिँदै भने, ‘अबदेखि म तिम्रो स्वामी भएँ। यसबाट मेरा सबै दिव्य गुण तिमीमा समाविष्ट हुनेछन् । म ब्रह्माण्डमा पुरुषेत्तमका नामले प्रसिद्ध छु तसर्थ आजदेखि तिम्रो नाम पनि पुरुषोत्तम हुनेछ । आजदेखि तिमी मल मास नभएर पुरुषोत्तम मासका नामले चिनिनेछौ । यसका साथै तीन तीन वर्षमा हुने तिम्रो आगमनमा जसले श्रद्धाभक्तिपूर्वक राम्रा काम गर्छन् ती व्यक्तिलाई अन्य समयमा गरेको उति नै अनुपातको कर्मबाट भन्दा बढी पुण्य प्राप्त हुनेछ ।

यसरी भगवानले अधिक वा मल मासलाई पुरुषोत्तम मास बनाएर धर्मकर्मका लागि उपयोगी बनाइदिए । यो दुर्लभ महिनामा जसले स्नान, पूजाआराधना, यज्ञअनुष्ठान एवं दानधर्म गर्छ उसले अत्यधिक पुण्य प्राप्त गर्दछ ।

यसकारण हिन्दू धर्मशास्त्रहरूमा अधिक मासलाई निकै पवित्र मानिएको छ । भगवान् कृष्ण अर्थात् विष्णुको महिना भएकाले यो महिनामा गरिने व्रत पारायण, पवित्र नदीस्नान एवं तीर्थयात्राबाट साह्रै ठूलो पुण्य प्राप्त हुने कुरा शास्त्रहरूमा बताइएको छ ।

ज्योतिषशास्त्रअनुसार लौकिक रूपमा नवविवाहित दम्पतीले मलमास छल्नुपर्ने भएकाले दुलही माइत गएर बस्ने प्रचलन पनि छ । विशेषगरी यो महिनामा यौनसम्पर्क राख्नु वर्जित मानिएकाले यस्तो नियम लगाइएको बताइन्छ ।

मलमासमा नवदम्पतिले के-के गर्नुहुँदैन ?

-एक वर्ष पूरा नभएका अर्थात नवविवाहित पतिपत्नीबीच यौनसम्पर्क भए पतिको आयु क्षीण अर्थात थोरै हुन्छ भनिएको छ। यसको अर्थ पुराना दमपतीलाई चाहिँ छुट छ भनिएको होइन, पूराना दम्पतीमा पनि यो नियम केही हदसम्म लागू हुन्छ।

-यो अवस्थामा यौनसम्पर्क भएर गर्भ रहे सन्तान स्वस्थ जन्मँदैन । गर्भ रहेर बच्चा जन्मिए पनि आयु थोरै हुन्छ भनिएको छ।

-नयाँ जोडी मलमासभर एउटै घरमा बस्न नहुने र एउटै धाराको पानी पिउन नहुने शास्त्रीय मान्यता छ ।

साथै
-विवाहदेखि पछिको पहिलो वा विवाह गरेको वर्षमा आउने महिना आषाढमा पतिगृहमा अर्थात श्रीमानसँग बस्दा बुहारीले सासू पिर्ने ।

-पहिलो क्षयमासमा बस्दा आफ्नै शरीरमा पीडा हुने ।

-पहिलो जेठमा बस्दा जेठाजु पिर्ने।

-पहिलो पुसमा बस्दा ससुरालाई पिर्ने।

-पहिलो अधिकमासमा बस्दा पतिलाई पिर्ने।

-पहिलो चैतमा पितृगृहमा बस्दा आफ्नै पिता अर्थात बुबालाई पिर्ने बताइन्छ ।

-यो मलमास सके एक महिना, नसके १५ दिन, नभए सात दिन त्यो पनि नसक्नेले तीन दिन अनिवार्य बार्नुपर्ने बताइएको छ।

मलमासमा गर्न नहुने भनिएका कुराः

-मलमास लाग्नुअघि नगएका तीर्थमा यस महिनामा पहिलो पटक जान र दर्शन नगरेका देवताको दर्शन गर्नु शुभ मानिँदैन ।

-मलमासमा मन्दिर निर्माण गर्न तथा कुनै देवीदेवताको प्राणप्रतिष्ठा गर्न पनि निषेध गरिएको छ ।

-विशेष कामनाले गरिने एकाह, सप्ताह, नवाह, लक्षहोम, कोटिहोम, श्रौतयाग, स्मार्तयागजस्ता कर्म गर्नु हुँदैन भनिएको छ ।

-गृहारम्भ, गृहप्रवेश, लाखबत्ती प्रज्वलन, पुराण श्रवणलगायत कुनै कामना राखेर गरिने काम गर्नु हुँदैन । यद्यपि निष्काम भावले गरिने यस्ता कर्म गर्न कुनै बाधा छैन । यसबाट झन् ठूलो पुण्य आर्जन हुने कुरा बताइएको छ ।

यद्यपि पुरुषोत्तम महात्म्य लगाउने भनेकै यही महिनामा भएकाले यसबाट मोक्षसम्म मिल्ने बताइएको छ । अधिकमासमा भगवान नारायणको पूजा गरिने र अधिकमासमा माहात्म्य वा कथा सुन्ने र दान गर्ने परम्परा रहेको छ । यसो गर्नाले सम्पूर्ण पापहरू नष्ट हुन्छन भनेर कथामा बताइएको छ ।

मलमासमा गर्न हुने कार्यः

-वार्षिकी कार्य,
-दैनिक नित्य कर्म सधैँ गरेर ल्याइएका कर्महरू, जस्तोः हरेक दिन बिहान बेलुका पूजा,
-पुरुषोत्तम पूजा कथा श्रवण,
-भगवान् विष्णुको स्तुति र कीर्तन
-न्वारन, पास्नी
-दैनिक उपभोग्य सामग्री खरिद ।

मलमासमा गर्नै नहुने कर्म

-श्राद्ध तथा पितृकर्म
-विवाह व्रतवन्ध, चूडाकर्म
-सप्ताह, नवाह, महारुद्री, शतचण्डी
-शुभ मूर्हुतका कुनै पनि कर्म गर्नु हुँदैन, जस्तोः गृह प्रवेश, नयाँ कार्यको थालनी, यात्रा, कार्यको शुभारम्भ गर्न नहुने
-विवाह गर्न नहुने, गरेमा गृह सुख हुँदैन भनिन्छ
-गर्भाधान गरेमा बच्चा रोगी जन्मने हुन सक्छ
-नवविवाहित दाम्पतिहरू सकेसम्म मलमासमा सँगै नबस्ने भनिएको छ।

मलमासमा के गर्ने ?

अधिकमासको कथामा वर्णन गरेअनुसार मलमासमा मालपुवा चढाउने र दान गर्ने चलन छ। मलमासमा ३३ देवताहरूलाई सम्झी अपूपदान अर्थात् मालपुवा दान गरिन्छ ।

मलमासमा रसवरी, जिलेबी, लड्डु, लालमोहन, पेडा आदि अरू कुनै खानेकुरा वा पक्वान्नहरू नभई मालपुवा नै हुनुपर्ने विशेष प्रावधान छ । पुरुषोत्तम महिनामा मालपुवा नै किन चाहिन्छ भन्ने हुनसक्छ । मालपुवालाई श्रीकृष्ण भगवान्को प्रिय पक्वान्नको रूपमा लिइएको छ ।

त्यस्तै मालपुवामा देखिने थुप्रै प्वालहरूले गर्दा हामी र हाम्रा पूुर्वजहरूलाई नर्कमा जानुपर्दैन, स्वर्ग प्राप्ति हुन्छ, परमात्माको धाममा निवास हुन्छ भन्ने पारम्परिक सोचअनुसार पनि मालपुवा चढाउने र दान गर्ने परम्परा बसेको हो ।

मालपुवा पनि ३३ ओटा नै किन चाहिने, ३० ओटा मात्रै भए पनि हुन्छ नि भन्ने कुराको पनि अधिकमासमा छुट्टै व्याख्या गरिएको छ ।

जस्तै 

-३० ओटा मालपुवा एक महिनाको लागि,

-३१ औँ मालपुवा छोरीबेटीहरूको घरमा खाएको पाप नलागोस् भनेर,

-३२ औँ मालपुवा ब्राह्मणहरूको घरमा खाएको पाप नलागोस् भनेर र

-३३ औँ मालपुवा भने कुनै जूठो (आशौच) बारेको र सूतक परेको घरमा खाएको पाप नलागोस् भन्नका निमित्त पुरुषोत्तम महिनाको अन्त्यमा साङ्गे गर्दा पुरुषोत्तम भगवानलाई स्मरण गर्दै,

-३३ देवताहरूलाई सम्झिँदै,

-३३ मालपुवाको संकल्प गरी दान गर्ने परम्परा वर्षौंदेखि चलिआएको छ ।

मलमासको साङ्गे गर्दा कर्मपात्र गरेर दीप-कलश-गणेशको पूजा गरी आज म फलानो नाम गरेको फलानो गोत्र गरेकोले फलानो नाम र गोत्र गरेको ब्राह्मणलाई फलानो काम सिद्धिका निमित्त यी ३३ मालपुवाहरू ३३ भगवान्हरूलाई दानका निमित्त संकल्प गर्छु भनेर पुरुषोत्तमस्वरूप ब्राह्मणलाई अर्पण गर्ने ।

यसरी गरिसकेपछि फलानो नाम-गोत्रले फलानो नाम-गोत्र भएको ब्राह्मणलाई फलानो काम सिद्धिका निमित्त दानप्रतिष्ठा गर्दछु भनी दानप्रतिष्ठा गरी दक्षिणासमेत दिनुपर्ने बताइन्छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ