पर्यटन क्षेत्रमा नवीनता र विविधिकरणमा जोड [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १ शुक्रबार
400
Shares
काठमाडौँ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकी सभापति सुम्नीमा उदासले पर्यटन ऐनलाई समयसापेक्ष बनाउन आवश्यक रहेको बताएकी छन् ।
पर्यटन कानुन संशोधन विधेयक २०८१ सम्बन्धी सरोकारवालासँग आयोजित अन्तरक्रिया कार्यक्रम ‘हेलो सांसद’मा बोल्दै उनले समितिले विधेयकलाई परिष्कृत र व्यवहारिक बनाउन गहन अध्ययन गरिरहेको जानकारी दिइन् ।
उदासले प्रस्तावित विधेयकका प्रत्येक दफामाथि सूक्ष्म छलफल गरी अन्तिम रूप दिने तयारी भइरहेको बताइन् ।
उनले पर्यटन कानुन संशोधन विधेयकमा धेरै विषय समेटिन बाँकी रहेको उल्लेख गर्दै सरोकारवालाबाट आएका सुझावलाई समावेश गर्ने प्रयास गरिने बताइन् ।
उनले राष्ट्रिय सभाबाट पारित भइसकेको पर्यटन विधेयक प्रतिनिधिसभामा छलफल र पारित हुन बाँकी रहेको उल्लेख गर्दै अब छिट्टै समितिमा आएपछि प्रत्येक दफामाथि गहन छलफल गरिने बताइन् ।
सभापति उदासले नेपालको पर्यटन क्षेत्रलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउन पुरानो सोचबाट बाहिर निस्कनुपर्ने धारणा राखिन् ।
उनले पर्यटन क्षेत्रको विविधीकरण गर्दै आध्यात्मिक पर्यटनजस्ता नयाँ आयामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।
उनले पर्यटन क्षेत्रको विकासका लागि स्पष्ट नियामक ढाँचा र दिशानिर्देश आवश्यक रहेको बताउँदै पर्यटनलाई मापनयोग्य र राष्ट्रिय गौरवको क्षेत्रका रूपमा विकास गर्न नवीन सोचका साथ अघि बढ्नुपर्ने उल्लेख गरिन् ।