arrow

राष्ट्रिय वाणिज्य बैंकबाट व्यक्तिगत कर्जा लिन सहज, यस्तो छ प्रक्रिया

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १ शुक्रबार
Rastriya-Banijya-Bank.jpg
तस्बिर : फाइल

काठमाडौँ । विविध व्यक्तिगत आवश्यकता पूरा गर्न राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले विभिन्न प्रकारका आकर्षक कर्जाहरू उपलब्ध गराउँदै आएको जनाएको छ । 

बैंकका उपभोक्ता कर्जा विभाग प्रमुख भोलानाथ पौडेलले कुनै पनि प्रकारका व्यक्तिगत आवश्यकता पूर्ति गर्नका लागि विभिन्न शीर्षकमा ऋण उपलब्ध गराउँदै आएको जानकारी दिएका हुन् । 

उनले कर्जाको प्रकृति हेरेर विभिन्न कर्जाको ऋण रकम, त्यसको अवधि र ब्याजदर भने फरक फरक रहेको जानकारी दिए । 

हाललाई बैंकले विभिन्न १० शीर्षकमा कर्जा दिइएको बताउँदै कर्जा प्रमुख पौडेलले व्यक्तिगत कर्जा पनि सहजै उपलब्ध गराएको जानकारी दिए । 

उनले प्रयोजन प्रष्ट नभएको तर वित्तीय आवश्यकता भएका ग्राहकहरूको लागि व्यक्तिगत कर्जाको व्यवस्था गरिएको बताए । 

कस्ता ग्राहकले पाउँछन् कर्जा ? 

ग्राहकको कर्जा तिर्न सक्ने क्षमता तथा कर्जाको लागि पर्याप्त धितो सुरक्षण भएमा ग्राहकका विविध वित्तीय आवश्यकता पूरा गर्न बैंकले यस प्रकारको कर्जा प्रदान गर्दै आएको छ । 

यस्तो कर्जा किस्ताबन्दीमा भुक्तानी गर्ने गरी निश्चित अवधिका लागि आवधिक प्रकृतिको वा त्रैमासिक रुपमा व्याजमात्र भुक्तानी गर्ने गरी दिइने प्रमुख पौडेलले बताए । 

उनले जति पनि साँवा रकम जुनसुकै समयमा जम्मा गर्न मिल्ने गरी वार्षिक रूपमा नवीकरण गर्न सकिने गरी चालु प्रकृतिको पनि हुन सक्ने जानकारी दिए । 

कति रुपैयाँसम्म पाइन्छ कर्जा ? 

यस्तो कर्जाको अधिकतम सीमा हाल एक करोड रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले यस्तो सीमा समय समयमा परिवर्तन गर्ने गरेको छ । 

व्यक्तिगत कर्जा शीर्षकमा प्रवाह भएको कर्जा रकमको प्रयोजन प्रष्ट नहुने भएकोले यस्तो कर्जामा उच्च जोखिम हुने पौडेल बताउँछन् । त्यसैले बैंकले उच्च दरको पूँजी छुट्याउनुपर्ने हुन्छ । 

यस्तो कर्जाको व्याजदर तुलनात्मक रुपमा अन्य कर्जाको भन्दा उच्च हुन्छ । हाल यस्तो कर्जाको व्याजदर आधार दरमा अधिकतम ३ प्रतिशत प्रिमियम थप गरी कायम गरिएको छ । 

हालको आधार दर अनुसार यस्तो कर्जाको वार्षिक व्याजदर ७.२५ प्रतिशत रहेको प्रमुख पौडेलले बताए । 

धितोको व्यवस्था के छ ? 
यस्तो कर्जाको लागि ग्राहकले बैंकलाई स्वीकार्य धितो प्रस्ताव गर्नुपर्दछ । यस्तो धितोको बैंकका सुचीकृत धितो मुल्याङ्कनकर्ताबाट भएको डिस्ट्रेस मूल्यको ५० प्रतिशत मात्र कर्जा प्रवाह गर्न सकिने व्यवस्था रहेको छ । 

कर्जाको लागि बैंकलाई प्रस्ताव गरेको धितो बैंक नियमानुसार बैंकको नाममा धितोबन्धक पारित भई रोक्का राखेपछि मात्र स्वीकृत कर्जा प्रवाह गरिन्छ ।

ग्राहकको कर्जा भुक्तानी गर्ने क्षमता, धितो सुरक्षणको पर्याप्तता र ग्राहकको विगतको कर्जा कारोबारको विश्लेषण गरी ग्राहकको नाममा उपयुक्त कर्जा सीमा स्वीकृत गरिने व्यवस्था रहेको उपभोक्ता कर्जा विभाग प्रमुख पौडेलले बताए । 

कर्जा सीमा सामान्यतया ७ कार्यदिनमा स्वीकृत गरिँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ