arrow

बाटोमै सुत्केरी भएकी २२ वर्षे चीनकलीको उद्धार 

logo
जनकबहादुर शाही,
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
sutkeri-83-1-31.jpg

हुम्ला । सिमकोट गाउँपालिका वडा नं ०५  काठेचुली चोक नजिकै बाटोमै सुत्केरी भएकी एक महिलाको प्रहरीले उद्धार गरेको छ । समयमै प्रहरी टोली परिचालन हुँदा आमा र नवजात शिशुको ज्यान जोगिएको बताइएको छ ।

हुम्लामा आज पनि सबै गाउँबस्ती सडक सञ्जाल र सुविधासम्पन्न स्वास्थ्य सेवाको पहुँचमा छैनन् । गाउँ–गाउँमा निर्माण गरिएका आधारभूत स्वास्थ्य संस्था र पालिकास्तरमा खटाइएका स्वास्थ्यकर्मीले सीमित स्रोतसाधनमै सेवा दिइरहेका छन् । तर उपलब्ध सेवाको समयमै उपयोग नगर्ने प्रवृत्ति, कमजोर पूर्वतयारी र चेतनाको अभावले ग्रामीण महिलाहरु अझै जोखिमपूर्ण अवस्था भोग्न बाध्य छन् ।

यही यथार्थको सिकार बनिन् सिमकोट गाउँपालिका–४ हिल्दुम गाउँकी २२ वर्षीया चीनकली कामी । बिहीबार बिहान सुत्केरी व्यथा लागेपछि उनी जिल्ला अस्पताल सिमकोटका लागि पैदल हिँडेकी थिइन् । गाउँबाट स्वास्थ्य इकाइ पुग्न करिब १० मिनेट र जिल्ला अस्पताल पुग्न झण्डै ५५ मिनेट पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । बिहान करिब ५ बजे अस्पतालतर्फ हिँडेकी कामी अस्पताल पुग्न नपाउँदै सिमकोट गाउँपालिका–५ काठेचुली चोक नजिकै बाटोमै सुत्केरी भएकी हुन् ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको थियो । प्रहरी टोलीले सुत्केरी महिला र नवजात शिशुको तत्काल उद्धार गरी जिल्ला अस्पताल सिमकोट पुर्‍याएको हुम्ला प्रहरी प्रमुख डिएसपी शंकर खड्काले जानकारी दिए । हाल आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

उमेरले भर्खर २२ वर्ष पुगेकी चीनकलीको यो पहिलो सन्तान हो । तर उनको कथा केवल एक व्यक्तिको पीडा मात्र होइन, हुम्लासहित समग्र कर्णालीका दुर्गम बस्तीका हजारौं महिलाले दैनिक भोगिरहेको स्वास्थ्य संकटको प्रतिनिधि घटना हो ।

ग्रामीण स्वास्थ्य संस्थामा स्तरीय प्रसूति सेवा नहुनु, दक्ष जनशक्ति अभाव, समयमै नियमित स्वास्थ्य परीक्षण नगर्नु, आर्थिक समस्या, सडक र यातायातको कठिन पहुँच तथा परिवारको कमजोर तयारीले यस्ता घटना दोहोरिने गरेका छन् । अझै पनि धेरै महिलाले सुत्केरी व्यथा च्यापिएपछि मात्रै अस्पताल जाने सोच राख्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

जिल्ला अस्पताल हुम्लाकी नर्सिङ इन्चार्ज सरिता बोहोराका अनुसार समस्या केवल स्वास्थ्य संस्थाको अभाव मात्र होइन, परिवार र समुदायको चेतनासँग पनि जोडिएको छ । व्यथा लागेपछि मात्रै अस्पताल जाने, पूर्वतयारी नगर्ने, जोखिमलाई सामान्य रूपमा लिने प्रवृत्तिले धेरै समस्या निम्त्याएको छ, उनले भनिन् ।

उनका अनुसार ग्रामीण क्षेत्रमा अझै पनि स्वास्थ्य संस्था टाढा हुने, यातायात नहुने, आफन्त तत्काल साथमा नहुने, आर्थिक अभाव रहने जस्ता कारणले महिलाले जोखिम मोलेर सुत्केरी हुनुपर्ने अवस्था छ । कतिपय अवस्थामा समयमै अस्पताल नपुग्दा आमा र शिशुको ज्यानसमेत जाने गरेको छ ।

पहिले हुम्लाका अधिकांश महिलाले घरमै सुत्केरी गराउने गरेका थिए । अवस्था जटिल भएपछि मात्रै अस्पताल लैजाने चलन थियो । अहिले संस्थागत सुत्केरीको संख्या बढे पनि धेरैले स्वास्थ्य सेवाप्रति स्वेच्छाले भन्दा सरकारी प्रोत्साहन रकमका कारण मात्रै अस्पताल पुग्ने गरेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

हुम्लाका दुर्गम क्षेत्रमा गर्भवती महिलाको अवस्था अझै चुनौतीपूर्ण छ । गर्भावस्थामा कडा श्रम गर्नुपर्ने, कम उमेरमै बच्चा जन्माउने, पोषणको कमी, नियमित स्वास्थ्य परीक्षण नहुनु र सुरक्षित मातृत्व सेवामा कमजोर पहुँचका कारण धेरै महिलाको ज्यान जोखिममा पर्ने गरेको छ ।

यता, कर्णाली करिडोर पूर्ण रूपमा सहज नबन्दा उपचारका लागि जिल्ला अस्पताल पुग्नसमेत नागरिकले ठूलो सास्ती खेप्नुपरेको छ । सडक खुलेको अवस्थामा समेत जीप रिजर्भ गर्न १० देखि १२ हजार रुपैयाँसम्म खर्च हुने भएकाले विपन्न परिवारका लागि उपचार सेवा अझै टाढाको विषय बनेको छ ।

दुर्गम जिल्लाका महिलालाई सुरक्षित मातृत्व सेवा उपलब्ध गराउन जिल्ला अस्पतालमै विशेषज्ञसहितको सेवा प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार स्वास्थ्य सेवा पहुँचयोग्य, भरपर्दो र गुणस्तरीय नबनाइए यस्ता जोखिमपूर्ण घटना दोहोरिइ रहने चिकित्सक बिरेन्द्र शाहीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ