पाँचथरको एसईई नतिजा: छ विद्यालयको नतिजा शून्य, आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
621
Shares
काठमाडौँ । भर्खरै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा पाँचथरका छ वटा विद्यालयको शैक्षिक अवस्था निकै कमजोर देखिएको छ। जिल्लाका एक संस्थागत र पाँच वटा सामुदायिक विद्यालयबाट परीक्षामा सामेल कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन्। फिदिमको कालिका मावि साम्दिनबाट आठ जना विद्यार्थी सामेल भएकामा कोही पनि ग्रेडेड भएनन् भने यो विद्यालयले गत वर्ष पनि शून्य नतिजा ल्याएको थियो।
यस्तै फाल्गुनन्दको सारताप मनरत्न माविबाट २६ जना, मिक्लाजुङका खान्द्रोङ माविबाट छ जना, चन्द्रोदय माविबाट १० जना र माउण्ट कञ्चन बोर्डिङ स्कुलबाट १० जना विद्यार्थी सामेल भए पनि सबै अनुत्तीर्ण भए। फालेलुङको सरस्वती मावि ताङलेपाबाट सहभागी भएका चारै जना विद्यार्थी ग्रेडेड हुन सकेनन्।
शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरका अनुसार जिल्लाभर नियमित साधारणतर्फ दुई हजार ९९ जना विद्यार्थीमध्ये एक हजार ३४ जना अर्थात् ४९ प्रतिशत मात्र उत्तीर्ण भएका छन्। प्राविधिक धारतर्फ भने एक सय २२ जनामा ६२ जना सफल भएका छन् भने जिल्लाका दुई जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन्। पालिकागत रूपमा हेर्दा याङवरक गाउँपालिकाको नतिजा सबैभन्दा कमजोर २६ प्रतिशत देखिएको छ भने तुम्बेवा गाउँपालिकाले ६२ प्रतिशतसहित जिल्लामै सन्तोषजनक नतिजा निकालेको छ। हिलिहाङ गाउँपालिकामा ५४ प्रतिशत र मिक्लाजुङ गाउँपालिकामा ६० प्रतिशत विद्यार्थी सफल भएका छन्।
फिदिम नगरपालिकामा सामुदायिक विद्यालयको उत्तीर्ण दर करिब ४५ प्रतिशत रहँदा संस्थागत विद्यालयको नतिजा भने बलियो देखिएको छ। फाल्गुनन्द गाउँपालिकाको समग्र उत्तीर्ण दर ५६ प्रतिशत रहेको छ जहाँ केही विद्यालयले शतप्रतिशत नतिजा समेत निकालेका छन्। फालेलुङ गाउँपालिकामा ५० प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् जहाँ कतिपय विद्यालयमा विद्यार्थी सङ्ख्या १० भन्दा पनि कम रहेको पाइएको छ। जिल्लाभरिको नतिजा विश्लेषण गर्दा कतिपय विद्यालयले उत्कृष्ट प्रदर्शन गरे पनि शून्य नतिजा ल्याउने विद्यालयहरूको शैक्षिक गुणस्तर र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको छ।