काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन सभामुखसँग 'रुलिङ' गर्न माग गरेको छ। प्रतिनिधि सभाको बुधवार बसेको बैठकमा कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री सदनमा अनुपस्थित रहेको भन्दै आपत्ति जनाए।
सचेतक राईले प्रधानमन्त्री आफैँले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहे पनि प्रधानमन्त्री सदनमा नदेखिएको बताए। "सदनको गरिमा जोगाउने र इज्जत राख्ने भूमिका सभामुखको हो," उनले भने, "तपाईँले सदनको इज्जत राख्नुभएन भने कसैले पनि यसको गरिमा बढाउन सक्दैन। त्यसैले सभामुखमार्फत प्रधानमन्त्रीलाई रुलिङ गरेर सभामा बोलाउन अनुरोध गर्दछु।"
कांग्रेसले सदनमा न्यायालय र न्यायाधीशको आलोचना भएको विषयमा पनि गम्भीर ध्यानाकर्षण गराएको छ। महाभियोगबाहेक अन्य अवस्थामा संसद्मा न्यायाधीशको बारेमा बहस गर्न नपाइने संवैधानिक व्यवस्था रहेको स्मरण गराउँदै राईले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपनेता गणेश पराजुलीले रोस्टमबाटै न्यायाधीशको आलोचना गरेकोमा आपत्ति जनाए।
"रास्वपा संविधानभन्दा माथि हो?" भन्दै उनले प्रश्न गरे। सचेतक राईले सभामुखलाई संसद्भित्र हुने यस्ता असंवैधानिक गतिविधिहरू रोक्न र सदनको मर्यादा कायम राख्न ध्यानाकर्षण समेत गराएका छन्।