"समावेशी प्रतिनिधित्व 'रगतले लेखिएको कथा' हो, पार्टीको जितभन्दा ठूलो"
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २९ मंगलबार
332
Shares
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संघीय संसद्मा देखिएको समावेशी र समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको चुनावी नतिजाभन्दा ठूलो उपलब्धिका रूपमा चित्रण गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान संसद्को संरचनालाई लामो सङ्घर्ष र बलिदानको प्रतिफल भएको बताए।
सम्बोधनका क्रममा प्रचण्डले संसद्मा उत्पीडित वर्ग र समुदायको उपस्थितिलाई 'रगतले लेखिएको कथा' को संज्ञा दिए। उनले विगतको सशस्त्र सङ्घर्षलाई स्मरण गर्दै सामन्तवादविरुद्धको लडाइँले नै आजको समावेशी व्यवस्था सम्भव भएको दाबी गरे।
"पिठ्यूँमा दुधे बालक र काँधमा बन्दूक बोकेका महिलाहरूको बलिदानले यो कथा लेखिएको हो," उनले भने, "सामन्तवादविरुद्ध हामीले उठाएको बन्दूकले ढोका नखोलेको भए उत्पीडित समुदायका प्रतिनिधिहरू यहाँ प्रवेश गरेर मन्त्री बन्ने अवस्था कहाँबाट आउँथ्यो?"
प्रचण्डले निर्वाचन परिणामका आधारमा आफ्नो दल सानो वा ठूलो हुनुभन्दा पनि संसद्मा महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम र थारू समुदायको 'इन्द्रेणी प्रतिनिधित्व' हुनुलाई मुख्य विजय माने। उनले भने, "यो सम्मानित संसद्मा जसको प्रवेश भए पनि म आफैँ प्रवेश गरेजस्तो लाग्छ। पार्टी जुनसुकै भए पनि यो समावेशी प्रतिनिधित्वप्रति गर्व गर्ने अधिकार मलाई छ, किनकि यसको मशाल आफ्नै रगतले बालिएको हो।"
उनले तथ्याङ्कमा आधारित रहेर विगत र वर्तमानको संसद्को तुलना गर्दै अहिलेको रूपान्तरण ऐतिहासिक भएको उल्लेख गरे। निर्वाचनमा आफ्नो पार्टी खुम्चिए पनि आफूहरूले ल्याएको एजेण्डा र स्थापित गरेको प्रणालीले जितेको भन्दै उनले खुसी व्यक्त गरे। उनले नयाँ सांसदहरूलाई यो व्यवस्थाको रक्षा गर्न र समावेशिताको मर्मलाई आत्मसात् गर्न समेत आग्रह गरे।