नयाँ र पुरानाको भाष्यले समाज विभाजन गर्छ, सवाल सही र गलतको हो: प्रचण्ड
समावेशी संसद पार्टीको विजयभन्दा ठूलो
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २९ मंगलबार
322
Shares
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा 'पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन्' भनी बनाइएको भाष्य दार्शनिक र राजनीतिक रूपले गलत भएको बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिमा मुख्य विषय उमेर वा पुरानोपन नभई विचार र प्रवृत्ति सही वा गलत हुनु रहेको उल्लेख गरे।
सम्बोधनका क्रममा दाहालले नयाँ र पुरानाको नाममा हुने बहसले परिवार, समाज र राजनीतिलाई नै विभाजित गर्ने खतरा औँल्याए। "सवाल पुराना र नयाँको होइन, सही र गलतको हो," उनले भने, "पुराना जति सबै नराम्रा वा नयाँ जति सबै राम्रा भन्ने बहसले समाजलाई विखण्डनतर्फ लैजान्छ। त्यसैले म सबै माननीयज्यूहरूलाई नयाँ र पुरानाको भाष्य बदलेर सही वा गलतको कसीमा बहस गर्न हार्दिक अनुरोध गर्दछु।"
प्रचण्डले निर्वाचन परिणामका हिसाबले आफ्नो दल खुम्चिएको स्वीकार गरे पनि वर्तमान संसदको समावेशी संरचनालाई आफ्नो पार्टीको विजयभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा चित्रण गरे। संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गतको संसदमा मधेशी, दलित, महिला तथा पिछडिएका वर्गको ‘इन्द्रेणी प्रतिनिधित्व’ स्थापित हुनु नै परिवर्तनको मुख्य कडी भएको उनको दाबी छ।
उनले थपे, "परिणामको दृष्टिले हाम्रो दल सानो देखिए पनि निर्वाचनको वातावरण बनाउन हामीले खेलेको भूमिका महत्वपूर्ण छ। आजको जस्तो समावेशी र समानुपातिक व्यवस्था हिजो थिएन। संसदमा देखिएको यो इन्द्रेणी प्रतिनिधित्व मेरो लागि पार्टीको जितभन्दा सधैँ महत्वपूर्ण रहिरहनेछ।"
दाहालले जटिल राजनीतिक परिस्थितिमा पनि निर्वाचन सुनिश्चित गर्नु र समाजका सबै वर्गको आवाजलाई संसदसम्म पुर्याउनु नै लोकतान्त्रिक गणतन्त्रको वास्तविक सुन्दरता भएको बताए। उनले नवनिर्वाचित सदस्यहरूलाई स्वागत गर्दै परिणामभन्दा पनि लोकतान्त्रिक मूल्यमान्यता र समावेशिताको विस्तारलाई प्राथमिकता दिन आग्रह गरे।