arrow

सुकुमवासीको घर भत्काएकोमा एमालेको आपत्ति, तत्काल आवासको व्यवस्था गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २९ मंगलबार
parliament-82-12-23eee.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद यज्ञबहादुर बोगटीले सरकारले सुकुमवासी बस्तीमा डोजर चलाएर गरिब जनतालाई घरबारविहीन बनाएको भन्दै कडा आपत्ति जनाएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले घरबारविहीन बनाइएका परिवारका लागि तत्काल वैकल्पिक आवासको व्यवस्था गर्न सरकारसँग माग गरे।

सांसद बोगटीले सरकारले भूमिहीन र दलितका समस्या समाधान गर्नुको सट्टा उल्टै अमानवीय व्यवहार देखाउँदै उनीहरूको ओत खोसेको बताए। "देशभर ११ लाख २९ हजारभन्दा बढी भूमिहीन र सुकुमवासीका समस्या जस्ताको तस्तै छन्," उनले भने, "समाधान खोज्नुको सट्टा गरिबको घरमा डोजर चलाउनु निन्दनीय छ। यो कार्य तत्काल रोकिनुपर्छ र पीडितहरूलाई पुनर्वासको ग्यारेन्टी गरिनुपर्छ।"

सुकुमवासी समस्याका साथै सांसद बोगटीले बढ्दो महँगीका कारण विपन्न वर्गको भान्सा प्रभावित भएको उल्लेख गरे। गरिब जनता महँगीको चर्को मारमा परिरहेकाले सरकारले बजार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न ढिलाइ गर्न नहुनेमा उनले जोड दिए। सरकारले जनताका आधारभूत आवश्यकता र समस्यालाई गम्भीरतापूर्वक लिएर राहतका कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ थियो।

संसद्‍मा उनले सभामुखमार्फत सरकारलाई भूमिहीनको संवैधानिक हकको सम्मान गर्न र महँगी घटाएर राहत दिन सचेत समेत गराए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ