काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक हुँदैछ । सरकारले परीक्षा भएको एक महिनामै नतिजा सार्वजनिक गर्ने निर्णयअनुसार आज राति नतिजा सार्वजनिक गर्न लागेको हो ।
साँझ साढे ५ बजेदेखि राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको छ । बैठक नटुंगिएकाले परीक्षा सार्वजनिक हुन ढिलाइ भएको हो । बैठक सकिएपछि पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गरिने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षाका लागि ५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थीले फर्म भरेका थिए । तर कतिपय विद्यार्थी सहभागी नै नभएको, कसैका नक्कली परीक्षार्थी पनि भएको कारणले गर्दा परीक्षार्थी संख्या घटेको छ । एसईई परीक्षाका लागि देशभरका १ हजार ९ सय ६५ वटा र जापानमा एउटा गरी कूल १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएका थिए ।
११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएका थिए । परीक्षा भएको विषयको सोही दिन परीक्षाकेन्द्रमा परीक्षक र सुपरीक्षकहरूले उत्तरपुस्तिका जाँच गरेर विद्यार्थीको लब्धांकपत्र शिक्षा विकास तथा समन्वय इकाइमा पठाउने व्यवस्था गरिएको थियो ।
शिक्षा विकास तथा समन्वय इकाइले तोकिएको समयमा लब्धांकपत्रहरू परीक्षा नियन्त्रण कार्यलय पठाएको थियो ।
एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो ।
परीक्षार्थीहरूले नेपाल टेलिकमको १६०० नम्बरमा कल (IVR), एसएमएस वा युएसएसडीमार्फत आफ्नो नतिजा प्राप्त गर्न सक्नेछन्। त्यसैगरी, आधिकारिक वेबसाइटहरू www.see.gov.np, www.neb.gov.np र www.see.ntc.net.np मार्फत पनि विस्तृत नतिजा हेर्न सकिने बोर्डले जनाएको छ। विद्यार्थीले आफ्नो मोबाइलको मेसेज बक्समा गएर आधिकारिक सर्टकोड प्रयोग गरी सिधै नतिजा थाहा पाउन सक्नेछन्।
यस वर्ष जापानको एक परीक्षा केन्द्रबाट समेत २३ जना विद्यार्थीले एसइई दिएका थिए। सरकारको नयाँ कार्ययोजना अनुसार परीक्षा सकिएको छोटो अवधिमै नतिजा आउन लागेकाले विद्यार्थी र अभिभावकहरू उत्साहित देखिएका छन्।
मङ्गलबार नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले आफ्नो शैक्षिक प्रमाणपत्र लिन र माथिल्लो तहको भर्ना प्रक्रियामा सहभागी हुन थप समय पाउने अपेक्षा गरिएको छ।