शिक्षालाई समृद्धिको आधार बनाइने, एआईमा आधारित सिकाइमा जोड
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २८ सोमबार
348
Shares
काठमाडौँ । सरकारले शिक्षा क्षेत्रलाई मुलुकको सुधार र समृद्धिको मुख्य आधारका रूपमा स्थापित गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले माध्यमिक तहसम्मको शिक्षालाई पूर्ण रूपमा निःशुल्क सुनिश्चित गरिने बताए। पाठ्यक्रमलाई समयसापेक्ष परिमार्जन गर्दै विद्यालय शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी र प्रत्यक्ष रूपमा रोजगारीसँग जोडिने सरकारको योजना छ।
सार्वजनिक शिक्षामा दीर्घकालीन लगानी वृद्धि गर्ने नीति लिएको सरकारले निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थाहरूलाई सेवामुखी र गुणस्तरकेन्द्रित बनाउन आवश्यकताअनुसार नियमन गर्ने भएको छ। नयाँ शिक्षा योजनाअन्तर्गत प्रविधिमैत्री सिकाइलाई प्राथमिकता दिँदै ई-लर्निङ, भर्चुअल कक्षा, खुला डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित सिकाइ प्रणालीलाई देशभर विस्तार गरिने राष्ट्रपति पौडेलले उल्लेख गरे।
उच्च शिक्षालाई श्रम बजारको मागअनुसार विकास गर्न विश्वविद्यालयहरूको प्राज्ञिक तथा शासकीय पुनर्संरचना गरिने सरकारको नीति रहेको छ। यसका साथै विद्यालय नक्साङ्कन, विद्यालय समायोजन, शिक्षक दरबन्दी मिलान तथा पुस्तकालय र प्रयोगशालाको सुधारलाई एउटै एकीकृत योजनामार्फत प्रभावकारी रूपमा कार्यान्वयन गरिने उनले बताए। यो नयाँ शैक्षिक रणनीतिले दक्ष जनशक्ति उत्पादन र शैक्षिक गुणस्तर सुधारमा दूरगामी महत्त्व राख्ने विश्वास गरिएको छ।