सरकारका क्रियाकलाप लोकतान्त्रिक देखिएनन् : विश्वप्रकाश शर्मा
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २८ सोमबार
349
Shares
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले लोकतान्त्रिक विधिबाट चुनिएको वर्तमान सरकारले अलोकतान्त्रिक गतिविधि गरिरहेको आरोप लगाएका छन्। सोमबारदेखि सुरु भएको कांग्रेसको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले दुई तिहाइको सरकारले अध्यादेशमार्फत मुलुक चलाउन खोज्नु र सुकुम्बासीहरूलाई अपराधी जस्तै लखेट्नु घोर अलोकतान्त्रिक भएको बताए।
शर्माले नेपाली कांग्रेस लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने पार्टी भएकाले सरकारका राम्रा कामको समर्थन र जनविरोधी कदमको कडा खबरदारी गर्ने स्पष्ट पारे। "एउटा निर्वाचन हार्दैमा कांग्रेस सकिँदैन, हाम्रा लागि हारजित ठुलो कुरा होइन," उनले भने, "तर लोकतन्त्रको संस्थागत विकास र लोकतान्त्रिक चरित्र जोगाउने मामिलामा कांग्रेसले कसैसँग सम्झौता गर्दैन।"
पार्टीको आन्तरिक अवस्थाबारे बोल्दै उपसभापति शर्माले विवादहरूलाई व्यवस्थित गरेर पार्टीलाई एकताबद्ध बनाउन सबै नेताहरूसँग छलफल भइरहेको जानकारी दिए। पार्टीभित्रको बृहत्तर एकताका लागि सबै पक्षसँग संवाद भइरहेको र सबै नेताहरूलाई उचित सम्मान दिइने उनले बताए। सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै उनले लोकतन्त्रको रक्षाका लागि कार्यकर्ताहरूलाई सचेत रहन समेत आग्रह गरे।